काठमाडौं । गैरआवासीय नेपालीले प्रवर्द्धन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले एक दर्जन कम्पनीका सेयरमा लगानी गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत एनआरएनले जलविद्युत्, बैंक तथा वित्तीय संस्था गरी विभिन्न १० कम्पनीहरुमा साढे ८० करोड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले एनआरएनले प्रवर्द्धन गरेका हिमालयन पावर पार्टनर, श्वेतगंगा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर माथिल्लो मैलुङ खोला जलविद्युत्, संयुक्त ऊर्जा लिमिटेडमा सेयर लगानी गरेको छ ।
यस्तै कम्पनीले कुमारी बैंक, नेसनल माइक्रोफाइनान्सको प्रमोटर सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्तमा र नेरुडे लघुवित्तको संस्थापक सेयरमा लगानी गरेको छ । एनआरएनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी गरेको छ ।
१० कम्पनीमा एनआरएनको ८० करोड ४७ लाख रुपैयाँ सेयर लगानी रहेको छ । कुमारी बैंकको प्रमोटर सेयरमा मात्रै ६ करोड ७८ लाख रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै, कम्पनीले तीन माइक्रोफाइनान्सको प्रमोटर सेयरमा १५ करोड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रमोटर सेयरमा पनि लगानी गरेको छ । सो सेयरमा ७ करोड ८५ लाख, मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयरमा ४ करोड ६७ करोड र नेरुडे लघुवित्तको प्रमोटर सेयरमा २ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।
साथै हिमालयन पावर पार्टनर कम्पनीमा ३४ करोड २७ लाख रुपैयाँ सेयर लगानी गरेको छ । हिमालयनले २७ मेगावाटको दोर्दीखोला आयोजना सम्पन्न गरिसकेको छ । तर, नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन संरचना बनाउन गरेको ढिलाइले आयोजनाबाट बिजुली उत्पादन भएको छैन।
श्वेतगंगा हाइड्रोपावरमा २८ मेगावाटको तल्लो लिखु आयोजना भने सम्पन्न भइसकेको छ । उसले ८ करोड ९८ लाख, सानिमा मिडिल तमोर हाइड्रोमा २ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । हाल कम्पनीले ७७ मेगावाटको मध्यतमोर आयोजना निर्माण गरिरहेको छ ।
संयुक्त ऊर्जा कम्पनीमा १ करोड र नेपाल लाइफ इन्स्योरेन्समा ५८ हजार रुपैयाँ लगानी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सेयर बिक्री गरेको कम्पनीले जनाएको छ ।
अहिले कम्पनीसँग नेपाल लाइफ इन्स्योरेन्सकोे बोनस सेयरबापतको ५८ हजार लगानी रहेको छ। आर्थिक वर्ष २०७८/०८९ मा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको नाफा ६२.६६ प्रतिशतले घटेको छ ।
गत वर्ष कम्पनीले ४ करोड १४ लाख र अघिल्लो वर्ष १० करोड ८९ लाख नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ६ करोड ७४ लाख कम हो । गत वर्ष कम्पनीले विभिन्न कम्पनीमा लगानीबाट कुल ५ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्ष सो आम्दानी ४ करोड १८ लाख थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ९४ लाख रुपैयाँ बढेको छ । यद्यपि कम्पनीको चुक्ता पुँजी वृद्धि हुन सकेको छैन । हाल चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९६ पैसा घटेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३५ पैसा रहेको थियो । तर, गत वर्ष प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९६ पैसाले घटेर ३ रुपैयाँ ३९ पैसामा झरेको छ ।
त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि घटेको छ । अघिल्लो वर्ष १०९ रुपैयाँ १४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १ रुपैयाँ ४६ पैसाले घटेर १०७ रुपैयाँ ६८ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर सम्पत्तिको मूल्य १०८ रुपैयाँ ४४ पैसा रहेकामा अघिल्लो वर्ष १०९ रुपैयाँ ४९ पैसा थियो ।
कोभिड–१९ महामारीले जलविद्युत् परियोजना सम्पन्न गर्न ढिलाइ हुँदा कम्पनीको आम्दानीमा असर परेको जनाइएको छ । साथै लगानी गरिएका जलविद्युत् आयोजनामा पूर्वाधार, कच्चापदार्थ र दक्ष जनशक्तिको अभावले सोचेअनुरुप काम अघि नबढ्ने र प्रसारण लाइनको ढिलाइले भविष्यमा उत्पादित जलविद्युतलाई बिक्री गर्नसमेत चुनौती देखिएको छ ।
एनआरएनले ७३ मेगावाटको मध्यतमोर, २८ मेगावाटको लिखु, २७ मेगावाटको दोर्दीखोला र १४ मेगावाटको मैलुङखोला जलविद्युत् आयोजना साझेदारीमा बनाउन सेयर पुँजी लगानी गरेको हो । एनआरएन इन्फ्रास्ट्रक्चरमा जीवा लामिछाने, शेष घलेलगायत गैरआवासीय नेपालीको लगानी छ।