काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
साउन ३० गते हुने टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायीहरु नीलहरि बास्तोला, कमल सापकोटा र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका हुन् ।
अध्यक्षका प्रत्यासी बास्तोलाले व्यवसायीसँग छलफल र चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् । यस्तै, अर्का प्रत्यासी सापकोटाले पनि चुनावी अभियान चलाइरहेका छन् । स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गराएका भण्डारी पनि चुनावी एजेन्डासहित प्रचार–प्रसारमा जुटिरहेका छन् ।
प्रत्यासी बास्तोलाले प्रतिबद्धता छ, व्यवसायीले खोजेजस्तो टान बनाउने । टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेका बेला यसलाई वास्तविक व्यवसायीको संस्थाका रुपमा स्थापित गर्न पहल गर्ने प्रतिबद्धता उनको छ ।
आफू नेतृत्वमा पुगे पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने उनी बताउँछन् ।
दुई वर्षे कार्यकालमा टान कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हितमा लगाउन चाहेको उनले बताए । ‘अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ, ‘प्रत्यासी बास्तोलाले भने, ‘टानमा व्यवसायीलाई सहजीकरणका लागि कर्मचारीसहितको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने छ ।’
यस्तै अध्यक्षकै अर्का प्रत्यासी सापकोटाले टानलाई सुदृढ तुल्याउँदै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताए । बोर्डलगायत तीनै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने उनको भनाइ छ । ‘एजेन्सीमार्फत पदयात्रामा जानुपर्ने अनिवार्य व्यवस्था मिलाउनाका साथै क्षतिग्रस्त पदयात्रा पुनर्निर्माण, नयाँ पदमार्ग पहिचान र प्रवद्र्धनमा जुट्ने योजना मेरो छ,’ उनले भने ।
स्वतन्त्र समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका भण्डारी सामाजिक सञ्जालमार्फत १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरी चुनावी माहोल आफ्नो पक्षमा बनाउन लागिपरेका छन् । टानलाई राजनीतिमुुक्त बनाएर पूर्ण व्यावसायिक बनाउने तथा टान सचिवालयलाई व्यवस्थित बनाएर सदस्य व्यवसायीको हितअनुकूल काम गर्ने योजना रहेको उनको भनाइ छ ।
साउन ३० गते हुने टान निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिने छ ।
एक हजार ८०० व्यवसायी आबद्ध टानमा एक हजार २५० मतदाता रहेका छन् ।
टान निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी बास्तोलाको नेतृत्वमा नयाँ समीकरण बनेको छ । नेपाली काँग्रेस समर्थित पर्यटन व्यवसायी बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी समर्थित पर्यटन व्यवसायीले सहकार्य गरेका छन् ।
अध्यक्षसहित पदाधिकारी पदमा बाँडफाँट गरिएको छ ।
टानका पूर्वअध्यक्ष दीपक महतले टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा तीनवटै संगठन सहकार्यका साथ चुनावी प्रचारमा जुटिरहेको बताए । उनले टान नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिए पनि सफल नभएकाले प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने बताए ।
सापकोटालाई नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी संगठनको साथ रहेको छ ।