भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक ६ देखि ८ लाख रूपैयाँसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रूपमा चिराइताको खेती गरेको देख्न पाइन्छ ।
एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०/७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् ।
लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ । एक किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएको यसको व्यावसायिक खेती गरिरहनुभएका स्थानीय किसान देवेन्द्र राउतले जानकारी दिनुभयो । उनले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरिरहनुभएको छ ।
किसान राउतले भने, ‘‘हाम्रो क्षेत्र जडीबुटी खेतीका लागि उपयोगी मानिन्छ । यहाँका अधिकांश किसानले चिराइतो खेती गरिहेका छन् । मैले करिब ६२ रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु । यसवर्ष मात्र मेरो २५ मन बढी चिराइतो उत्पादन हुन्छ ।
आगमी वर्ष ५० मनजति उत्पादन हुन्छ ।’’आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आउनुभएका अर्का किसान प्रेम बस्नेतले गतवर्ष चिराइतो बिक्रीबाट रु छ लाख ५० हजार आम्दानी भएको बताए। उनको गत वर्ष करिब ३५ रोपनी जमिनमा २५ मन चिराइतो उत्पादन गरिएको थियो ।
उत्पादित चिराइतो आफ्नै घरबाट प्रतिमन रु २६ हजारले बिक्री भएको बस्नेतको भनाइ थियो । ‘‘गतवर्ष चिराइतोबाट रु छ लाख ५० हजार आम्दानी लिएँ ’’ उनले भने, ‘‘यो वर्ष थप २० रोपनीमा विस्तार गरेको छु । गत वर्षको जस्तै मूल्य पाइए यो वर्ष पनि राम्रै आम्दानी हुन्छ ।’’चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न योग्य हुने कृषक बस्नेतले जानकारी दिए । ५० हजार आलु मकैबाट आम्दानी हुने बारीमा चिराइतो खेती गरिए ५ लाख रूपैयाँदेखि सात लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ थियो । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ ।
किसान बस्नेतले भने, ‘‘हामीले आफूले जानेको पराम्परागत रुपमा खेती गरिरहेका छौं । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ बढी आम्दानी गर्न सकिने थियो ।’’
किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा संकलन गर्ने गर्छन् । गत वर्ष मूल्यवृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ । मूल्यमा आउने उतारचडावले भने किसानलाई समस्या हुने गरेको छ । विगतका वर्षमा ४५ मनसम्म चिराइतो उत्पादन भएको १२ वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएका किसान गुणराज राउतले सुनाए । १ रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भएको उनको भनाइ थियो ।
राउतले हाल २० रोपनीम जमिनमा चिराइतो खेती गरिरहनुभएको छ । यो साल आठदेखि दश मनको हाराहारीमा उत्पादन हुने किसान उनको भनाइ थियो । ‘‘मसँग ४५ मनसम्म उत्पादन गरेको अनुभव छ’’, किसान राउतले भने, ‘‘यसलाई मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी पाउन सकिन्छ । एक रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भयो ।
एक पटक संकलन गरेर बेचेपछि सानो बिरुवा उत्पादन योग्य हुन अलि समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक/फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ।’’ ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसान राउतको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ ।
यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको बताइन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशीलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत जडीबुटीको पनि खेती विस्तार भइरहेको छ ।
–––