उमेरले ५७ वर्षमा प्रवेश गरेका निमानुरू शेर्पा एडभेन्चर टुरिजममा परिचित नाम हो । सोलुखुम्बुको नाम्चेमा २०२२ साल पुस २२ गते जन्मिएका शेर्पाको बाल्यकाल काठमाडौं र गाउँ हुँदै बित्यो ।
काठमाडौंको सिद्धार्थ वनस्थलीमा प्राइमर लेभल अध्ययन गरेका शेर्पाको स्कुल लेभल सल्लेरी भयो । एसएलसीपछि भने काठमाडौं आएर उच्च शिक्षा अध्ययनकै क्रममा उनले ट्रेकिङ व्यवसाय सुरू गरे ।
विदेशी कम्पनीहरुको रजगज रहेका बेला नेपाली ट्रेकिङ कम्पनी सञ्चालन गर्नेहरुको संख्या कमै थियो । त्यही बेला उनले सन् १९८८ मा च्छोउँ ट्रेकिङ कम्पनीमार्फत व्यावसायिक यात्रा तय गरेका शेर्पाले त्यसपछि भने पछाडि फर्केर हेर्नुपरेन ।
उनले कम्पनी दर्ता गर्दा २०० भन्दा कम थिए ट्रेकिङ कम्पनीहरु । नेपालको सबैभन्दा मौलिक उद्योग व्यवसाय भनेकै एडभेन्चर टुरिजम भएकाले त्यसैलाई निरन्तरता दिँदै व्यवसाय विस्तारमा लागेको उनको भनाइ छ ।
अधिकृत पुँजी ३ लाखबाट व्यवसाय सुरू गरेका शेर्पाले हाल अल्टिच्यूड एयर, च्छोउँ ट्रेकिङ कम्पनी र सोलुखुम्बुमा २ वटा होटल सञ्चालन गर्दै आएका छन् । उनले व्यवसाय मात्र सञ्चालन गरेनन् व्यवसायमा नयाँपन पनि ल्याए ।
सगरमाथा आरोहणका लागि बेसक्यामसम्म जाने बाटोमा सुविधासम्पन्न होटल तथा लजहरु नभएकै कारण मारमा परिरहेका पर्यटकहरुलाई लक्षित गरेर १९९२ मा पहिलोपटक लुबुचेमा सुविधासम्पन्न होटल ८ थाउजेन्ड इन्ड खोले । ५ हजार मिटरको उचाइमा रहेको लुबुचेमा त्यस बेला सञ्चालनमा रहेका लजहरुमध्येकै सबैभन्दा सुविधासम्पन्न थियो ।
नेपालमा त्यति बेला विषेशगरी युरोप, अमेरिका र जापानलगायत मुलुकका पर्यटकहरु धेरै आउने गरेका थिए । बेसक्याम क्षेत्रमा स्तरीय पर्यटकहरुलाई लैजानका लागि उनको सो होटलको ठूलो योगदान छ । त्यससँगै सगरमाथाको प्रवेशद्वारको रुपमा रहेको नाम्चे बजारमा पनि २००७ उनैले पहिलोपटक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
३० बेडको शेर्पा ल्यान्ड नामक होटल सञ्चालनमा आएपछि त्यहाँ पनि सुविधासम्पन्न होटलहरु खुल्ने क्रमले तीव्र्रता पाएको छ । अहिले त त्यहाँ लक्जरियस होटल तथा रिसोर्टहरु खुलिसकेका छन् ।
ट्रेकिङ कम्पनी, होटल सञ्चालन गरिरहेकै बेला पर्यटकहरुको उद्धारका लागि हेलिकप्टरको अभाव भएको महसुस उनले गरे । त्यसपछि सन् २०१६ बाट अल्टिच्युड हेलिकप्टर सञ्चालनमा ल्याएका छन् । त्यसअघिसम्म निजी क्षेत्रका हेलिकप्टर कमै थिए । नेपाली सेनाको हेलिकप्टरको भर पर्दा भनेको बेला पर्यटकको उद्धार समयमै हुन्नथ्यो । यसले धेरै समस्या सिर्जना गरेको थियो । त्यसकै समाधानका लागि हेलिकप्टर कम्पनी पनि सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
हाल उनले २ वटा हेलिकप्टरमार्फत सेवा दिँदै आएका छन् । अहिले त हेलिकप्टर कम्पनी नै एक दर्जनहाराहारी पुगेका छन् ।हाल शेर्पा नेपाल पर्वतारोहण संघका अध्यक्ष हुन् भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वउपाध्यक्ष र नेपाल एयरलाइन्सका सञ्चालक समितिसदस्य समेत भइसकेका छन् ।
यस्तै उनी फ्रेन्ड्स नेपाल नामक सामाजिक संस्थामा पनि आबद्ध छन् । सो संस्थाले मलेखुमा अस्पताल सञ्चालन गरिरहेको छ । उक्त अस्पताल समुदायलाई हस्तान्तरणसमेत गरेका छन् । हाइवे क्षेत्रमा हुने दुर्घटनामा घाइते भएकाहरुलाई तत्कालै उपचारका लागि सहज होस् भन्ने उद्देश्य राखिएको छ ।
उनकै पालामा नेपाल एयरलाइन्सले वाइडबडी जहाज खरिद गरिएको थियो भने टानको भवन निर्माणार्थ जग्गा पनि खरिद गरेका थिए । त्यस्तै पर्वतारोहण संघको ककनी र पोखरामा निर्माण भएको म्युजियम भवन निर्माणमा पनि उनको सक्रिय सहभागिता छ ।
तस्विर : सुजन गुरुङ÷दृशाष्ट विडारी