काठमाडौं । गत आर्थिक वर्षमा बिमाको पहुँच बढेर ३८.२६ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा २७.५३ प्रतिशत जनसंख्यामा पुगेको बिमा गत आर्थिक वर्षको असार मसान्तसम्म ११ प्रतिशतले बढेको बिमा समितिले जनाएको छ।
यो वैदेशिक रोजगार बिमा बाहेकको हो। एक वर्षको अवधिमा जीवन बिमा कम्पनीको व्यवसाय १४.६३ प्रतिशतले बढेको छ । यस्तै निर्जीवन बिमा व्यवसाय २३.५६ प्रतिशले बढेको समितिले जनाएको छ ।
बिमा व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा १६.४८ प्रतिशतले वद्धि भएर कुल १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। जसमध्ये जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ३९ अर्ब १६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए ।
अघिल्लो वर्षहरुमा तुलनामा अनुकुल परिस्थिति रहँदा व्यवसाय विस्तार भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुको बिमा लेख २.०६ प्रतिशतले वृद्धि भएर २७ लाख ८८ हजार १८ पुगेको छ। तर, सो अवधिमा जीवन बिमा कम्पनीहरुले जारी गरेको बिमा लेख भने अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.०९ प्रतिशतले वृद्धि भएर १ करोड ३० लाख ९९ हजार ६३२ पुगेको छ ।
गत आर्थिक वर्षमा जीवनतर्फ सबैभन्दा बढी नेपाल लाइफ इन्सयोरेन्स कम्पनी लिमिटेडले बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल ३५ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै निर्जीवन बिमा कम्पनीतर्फ सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बिमा शूल्क आर्जन गरेको छ।
जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स र निर्जीवन बिमातर्फ शिखर इन्स्योरेन्सको चुक्ता पुँजी सबैभन्दा धेरै छ । नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ छ । जीवन बिमा कम्पनीहरुमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम १ अर्ब ५२ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । निर्जीवनतर्फ जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम ९० करोड १२ लाख रुपैयाँ बिमाशूल्क आर्जन गरेको छ ।
कुन जीवन बिमा कम्पनीले कति आर्जन गरे
नेपाल लाइफ इन्स्योरेन्सले ३५ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले १८ अर्ब २२ करोड, नेसनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड, राष्ट्रिय बिमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफले ७ अर्ब ९२ करोड रुपैयाँ, एसियन लाइफले ६ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका छन ।
त्यसैगरी, सिटिजन लाइफले ५ अर्ब ४३ करोड, मेट लाइफले ५ अर्ब २३ करोड, सूर्या लाइफले ४ अर्ब ९९ करोड, प्राइम लाइफले ४३ अर्ब ६० करोड र रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।
निर्जीवन बिमा कम्पनी
शिखर इन्स्योरेन्सले ५ अर्ब ९२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ३ अर्ब १० करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड, राष्ट्रिय बिमा २ अर्ब ६४ करोड, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड आर्जन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३७ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब १४ करोड, हिमालयन जनरलले २ अर्ब ६ करोड, आईएमई जनरलले १ अर्ब ७७ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड रुपैयाँ संकलन गरेको छ ।
नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, युनाटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेका छन्।
त्यसैगरी, प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड, एभरेस्ट इन्स्योरेन्सले १ अर्ब २२ करोड, सानिमा जनरलले १ अर्ब ४ करोड, नेसनल इन्स्योरेन्सले ९० करोड ६६ लाख र जनरल इन्स्योरेन्सले ९० करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।
समितिको तथ्यांक अघिल्लो आवको तुलनामा अनुसार गत असार मसान्तसम्म बिमा कम्पनीहरुको कार्यालय संख्या १४.७६ प्रतिशतले थप भएर ३ हजार ३६६ पुगेको छ । कर्मचारी संख्या १०.३१ प्रतिशतले थप भएर ११ हजार ८६१ पुगेको छ ।
अघिल्लो वर्ष जीवन बिमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ९३३ थियो भने कर्मचारी संख्या १० हजार ७५२ जना थिए ।