काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक, व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई हस्तान्तरण गरेको हो ।
नेपाल पे क्युआर सेवा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङ्गलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, महा प्रबन्धक प्रसिद्ध राज अर्याललगायतको उपस्थिति रहेको थियो ।
नेपाल पे को क्युआर सेवा सुरु भए सँगै ग्राहकहरुले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट एम- स्मार्ट (मोबाइल बैंकिङ एप्लिकेसन अफ एमबिल) मार्फत भुक्तानी गर्न सक्नेछन् ।
आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोर्ड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।
यही कुरालाई मध्येनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
स्थापनाकलदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट, रेमिट एप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवम् मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।