एजेन्सी । धेरै महिलाहरुले आफ्ना बालबच्चालाई लगाएको पाउडर जोन्सन एन्ड जोन्सनले आगामी वर्षदेखि जे एन्ड जे बेबी पाउडरको उत्पादन बन्द गर्ने भएको छ ।
कम्पनीले विश्वभरमै यो उत्पादन बन्द गर्न लागेको बताएको छ ।
करिब दुई वर्षअघि नै कम्पनीले अमेरिकामा सो ब्रान्डको पाउडर बिक्रीमा रोक लगाइसकेको थियो । त्यहाँका हजारौं ग्राहकले मुद्दा हालेपछि कम्पनीले यस्तो फैसला गरेको थियो ।
कम्पनीविरुद्ध ३८ हजार मुद्दा
सन् २०२० देखि अमेरिका र क्यानडमा बेबी पाउडरको बिक्री बन्द गरिसकेको छ । तर, उसविरुद्ध हाल ३८ हजार मुद्दा चलिरहेका छन् । मुद्दा दायर गर्नेहरुमध्ये थुप्रै महिलाले पाउडर प्रयोग गर्दा ओभेरियन क्यान्सर भएको आरोप कम्पनीमाथि लगाएका छन् ।
यस्तै अमेरिकी नियामकले पनि उक्त कम्पनीको बेबी पाउडरमा क्यान्सर पैदा गर्ने तत्व मिश्रित रहेको दाबी गरेको थियो । यद्यपि कम्पनीले यो आरोपको खण्डन गरेको थियो ।
कम्पनीका अनुसार उत्तरी अमेरिकामा बिक्री घटेपछि प्रडक्ट बन्द गरिएको छ ।
के हो यो टल्क ?
जोन्सनको बेबी पाउडरमा प्रयोग हुने टल्क सफ्ट मिनरल हो । यो थुप्रै देशमा बन्छ । पेपर, प्लास्टिक र फर्मास्युटिकल्ससहित थुप्रै उद्योगमा यसको प्रयोग हुन्छ । यो पाउडरको प्रयोग नेपी रेस र अन्य प्रकारका पर्सनल हाइजिनमा हुन्छ । तर, कहिलेकाहीँ यसमा एसबेस्टस तत्व पाइन्छ, जसले शरीरमा क्यान्सर बनाउँछ ।
तर, यता कम्पनीले भने आफ्नो प्रडक्ट सेफ रहेको भन्दै आरोपको खण्डन गर्दै आइरहेको छ ।