काठमाडौं । औद्योगिक प्रतिष्ठान चाचन ग्रुपअन्तर्गतको नारायणी मोर्डन पल्स इन्डस्ट्रिजको दाल व्यापार १४ प्रतिशतले बढेको छ ।
सन् २०२१ मा उद्योगले २ अर्ब ५५ करोड २० लाख रुपैयाँको विभिन्न किसिमका दालको प्रशोधन तथा व्यापार गरेको छ ।
सन् २०२० मा नारायणीले २ करोड २३ लाख ८० हजार रुपैयाँको व्यापार गरेको थियो । एक वर्षको अवधिमा उद्योगको दाल व्यापार ३१ करोड ४० लाख रुपयाँ बढेको छ ।
सन् २०१९ मा उद्योगको दाल व्यापार २ करोड ६८ लाख ७० हजार रुपैयाँ थियो । २०२२ मा आइपुग्दा १ अर्ब २१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
कोरोना महामारीले व्यापारमा गिरावट आएपछि सञ्चालन आम्दानी पनि घटेको हो । कोरोनाको असर सकिएपछि उद्योगको दाल व्यापारमा बढोत्तरी हुन थालेको छ । उद्योगको उत्पादन लागत बढेकाले मार्जिन घटेर ५.९६ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । यसअघि मार्जिन ७.४१ प्रतिशत थियो ।
चाचन ग्रुपले सन् १९९४ मा स्थापना गरेको उद्योगले दाल र गेडागुडीको प्रशोधन र निर्यात गर्दै आएको छ । साना तथा घरेलु उद्योग विभागमा दर्ता भएको नारायणीको वार्षिक उत्पादन क्षमता ५० हजार टन रहेको छ ।
उद्योगको बिक्री डिपो राजधानी काठमाडौंको अतिरिक्त जनकपुर, इटहरी, पोखरा, भैरहवा र नेपालगन्जमा रहेको छ । उद्योगले १ अर्ब ८३ करोड ७५ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
सन् १९९४ मा स्थापना भएको चाचन ग्रुपको दोस्रो र तेस्रो पुस्ताले व्यवसाय सञ्चालन गरिरहेका छ । ग्रुपको कृषिबाहेक सिमेन्ट, छालाजन्य वस्तुको उत्पादन, खाद्य तेलको प्रशोधन र मलको व्यापार गर्दै आएको छ ।
बाराको लिपनीमालमा रहेको उद्योगको व्यवसाय मोहनलाल अग्रवाल र श्रवणकुमार चाचनले गरिरहेका छन् ।
कारखाना रक्सौलभन्दा १२ तथा सुक्खा बन्दरगाहबाट ११ किलोमिटरकाे दूरीमा रहेको छ । नेपाल–भारत सीमा नजिक भएकाले उद्योगको ढुवानी लागत कम छ ।