काठमाडौं । रियल आइस हक्की (स्केटिङ) खेल प्रेमीहरुका लागि फनल्यान्ड इन्टरटेमेन्ट प्रालिले खुसीको खबर ल्याएको छ ।
फनल्यान्डले अब काठमाडौंमै स्केटिङ खेल्ने व्यवस्था मिलाएको छ । काठमाडौंको भद्रकालीमा सञ्चालित फनल्यान्डभित्र आइसमा खेल्ने सम्पूर्ण गेमहरु सञ्चालनमा ल्याएको हो ।
नेपालमै पहिलोपटक सञ्चालनमा आएको सो खेलको सफ्ट ओपनिङ गत चैत २६ गते भए पनि फुल ओपनिङ भने हुन बाँकी छ । छोटो समयमै धेरैको रोजाइमा रियल आइस हक्की खेल परिसकेको फनल्यान्डले जनाएको छ ।
नेपालमा केही नयाँ खेल भित्र्याएर विश्वमा परिचित गराउन रियल आइस हक्की सुरु गरिएको फनल्यान्ड इन्टरटेमेन्ट प्रालिका प्रबन्ध निर्देशक प्रज्ज्वल बोहराले जानकारी दिए ।
‘केही नयाँ खेल भित्र्याउने सोच्दै गर्दा हिमालै हिमाल भएको मुलुकमा आइससम्बन्धी खेल नभएपछि रियल आइस हक्की सुरु गरेका हौं,’ प्रबन्ध निर्देशक बोहराले क्यापिटल नेपालसँग भने, ‘यसले व्यावसायिकका साथै अन्तर्राष्ट्रिय स्केटिङ खेलमा नेपालले पनि भाग लिने अवसर जुराउनेछ ।’
यसअघि ओलम्पिकमा स्केटिङ खेल हुने भए पनि नेपालबाट प्रतिनिधित्व हुने गरेको थिएन । अब भने, फनल्यान्डमा सिकेर अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता मात्र होइन, नेपालमै पनि यस्ता किसिमका खेल सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
२० करोड रुपैयाँको लागतमा निर्माण भएको सो फनल्यान्डमा आइसमा खेलिने सम्पूर्ण खेलहरु खेलाइनाका साथै भिडियो गेम पनि खेल्न पाइने छ ।
फनल्यान्डका अपरेसन म्यानेजर शालिकराम खत्रीले स्केटिङ खेल्नाका साथै सिक्नेसमेत व्यवस्था गरिएको बताए ।
एकपटकमा बालबालिकादेखि सबै उमेरका ६० जनाले खेल खेल्न सक्छन् । सोमबारदेखि शुक्रबारसम्म (१० देखि २ बजेसम्म) ३० प्रतिशत छुटमा खेल्न पाइनेछ । छुटबाहेक ४० मिनेटको १ हजार रुपैयाँ लाग्छ । यस्तै सिक्न चाहनेका लागि २० दिनको १६ हजारको प्याकेज बनाइएको छ । त्यसमा डेढ घण्टा समय पाउने छन् । त्यसका लागि स्पेसल कोचहरुले विषेश तालिम दिनेछन् ।
आइसमाथि खेल्न प्लास्टिकको डल्फिनसमेत राखिएको छ । सुरुमा आइसमा अडिन डल्फिनको माध्यमबाट खेल्न सकिन्छ ।
पहिलोपटक आइस हक्की तालिम
हक्की प्रशिक्षकहरु उत्पादन गर्न फनल्यान्डमा आइस हक्की तालिमको समेत आयोजना गरिएको छ । तालिमका लागि प्रशिक्षकको रुपमा डेनमार्कबाट एन्ड्रेस जेसप्रेसेनलाई ल्याइएको छ । ट्रेनर ५ महिनासम्म नेपालमा रहने छन् । यसबीचमा कम्पनीले आफ्नै प्रशिक्षकहरु उत्पादन गराइरहेको छ भने बाहिरबाट सिक्न आउनेका लागि पनि अवसर प्रदान गरिएको फन्डल्यान्डले जनाएको छ ।
कोभिडले ज्ञान हस्तान्तरण भयोः खत्री
खत्री ८ वर्ष कोरियामा काम गरेर फर्किएका सूचना प्रविधि (आईटी) विज्ञ हुन् । कोरिया जानुअघि पनि उनले नेपालमै मर्कनटाइलमा लामो समयसम्म इन्टरनेट र नेटवर्किङको क्षेत्रमा काम गरेका थिए । प्रज्ज्वल बोहरासँग खत्रीको त्यति बेलादेखिकै चिनजान थियो । पछि नेपालमा आएपछि पनि उनीहरुले इन्टरनेटसँगै नेटवर्किङको काम गरिरहेका थिए ।
त्यही बेला बोहरा र खत्री क्यू–पे को कम्पनीमा कनेक्ट भएका बेला आइससम्बन्धी खेल सुरु गर्न लागेको र सँगै काम गर्ने अफर दिएपछि उनी त्यहाँ लागेका हुन् ।
कोभिडका कारण आइस हक्की (स्केटिङ) मा चाहिने आवश्यक उपकरण जडान गर्ने मुख्य व्यक्ति चीनमै रोकिए । सबै सामान आए पनि ती व्यक्ति आउन नसकेपछि नेपालमै आइसकेका केही चिनियाँ प्राविधिक र खत्रीसहित नेपाली प्राविधिक मिलेर जडान गरे ।
‘चीनियाँ भाषामा मेसिनको नाम भएकाले बुझ्न केही समस्या भयो,’ खत्री भन्छन्, ‘जसोतसो जडान गर्न सफल भयौं । भिडियो कलमार्फत चीनमा रहेका मूख्य प्राविधिकसँग सहकार्य गर्दै काम गर्दा झन्डै ६ महिना लाग्यो । ती प्राविधिक नेपालमा आएका भए ४० देखि ४५ दिन भित्रमा जडान सकिन्थ्यो ।’
चिनियाँ प्राविधिक नआउँदा नेपाली जनशक्ति पनि तयार भएको र यसबाट अब नेपालमा अन्य ठाउँमा यस्ता खालका खेल राख्न परेमा नेपाली जनशक्ति नै तयार भएको खत्रीको भनाइ छ ।