काठमाडौं । विश्व बैंकअन्तगर्तको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सन् २०२३ सम्म ३० हजारभन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई) माझ पुग्ने भएको छ । आईएफसीको सो लक्ष्यले नेपालमा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ हुने भएको छ ।
आईएफसीको उक्त कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशीता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना)मा सुधारका लागि सहयोग पुग्नेछ। आईएफसीले पुनरुत्थान हुँदै गरेको मुलुकको वित्तीय क्षेत्रमा करिब ५ अर्ब रुपैयाँ (४ करोड ५० लाख अमेरिकी डलर) लगानी गर्दैछ। भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य फराकिलो एसएमई रणनीतिको महत्वपूर्ण अंग हो ।
साथै आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गरी हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरेको छ। यो विश्वव्यापी रूपमा नै आईएफसीको पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम हो ।
‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम/व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ। यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौं’ वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भने ।
एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्दछन्। अझैपनि ४४ प्रतिशत एसएमईहरूका लागि वित्तीय पहुँच प्रमुख अवरोध रहेको छ । खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीहरूमा २.९ अर्ब डलर बराबरको वित्तीय खाडल रहेको अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षमा आईएफसीले सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । पछिल्लो ४ वर्षमा एनएमबी बैंकमा आईएफसीको यो तेस्रो लगानी हो ।
नेपाल जस्तो अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ । त्यसैले आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंकलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको छ ।
‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामो प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने ‘यस परिदृश्यमा, देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ।’