बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिताको तेस्रो संस्करणले देशको प्रचार–प्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्नेछ र नेपाल भ्रमण वर्ष २०२०को प्रवद्र्धनमा समेत उल्लेखनीय सहयोग पु¥याउने छ ।
बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ खेल आयोजना गर्न लागेको हो । यो प्रतियोगिताको नाम ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ रहेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल इयर २०२० को सहकार्यमा गर्न लागिएको हो ।
प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो– २० अक्टुबर २०१९ का दिन ४२५० मिटर उचाईमा रहेको कोङ्दे री मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामाबाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार पारिँदै छ ।
यो प्रतियोगिता नेपालको सबैभन्दा उचाईमा गरिएको पहिलो खेल रहेको हाम्रो दाबी छ । हामीलाई विश्वास छ, यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुनेछ ।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको छ ।
अन्तर्राष्ट्रिय पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लगिने छ ।
पत्रकारहरुलाई कोङ्देमा हुने प्रतियोगिताबारे समाचार तयार पार्नका लागि अघिल्ला दुई दिन लुक्लामा बस्ने व्यवस्था मिलाइएको छ । पत्रकारलाई उनीहरुको रुचिअनुसार त्यस क्षेत्रको समाचार तयार पार्न प्रोत्साहित गरिनेछ, जसबाट अन्तर्राष्ट्रियजगत्मा नेपाल एउटा पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन हुन मद्दत पुगोस् । साथै, यस प्रतियोगिताले हिमाली क्षेत्रमा वातावरण विनासका प्रभावबारे पनि जागरुकता बढाउन मद्दत पुग्नेछ ।
प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैङ्क प्रतियोगिताको बैङ्किङ पार्टनर तथा टाटा मोटर्स एच फाइभ भेहिकल तथा होल–ईन–वान पार्टनर रहेको छ ।
बाह्रखरी मिडिया इभेन्टस्प्रतियोगिताको आयोजक हो । सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए । “विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,” उनले भने ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
“यो हामीले नेपालकै लागि गरिएको कार्यक्रम हो,” उनले भने, “नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं ।”
पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण विषय भएको बताए ।
गोकर्ण गल्फ कोर्षका डाइरेक्टर दीपक आचार्यले ४२५० मिटरको उचाईमा प्रतियोगिता गर्न लागिएको जानकारी गराए । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले कार्यक्रमको सफलताको कामना गरे ।