काठमाडौं । भन्सारको सन्दर्भ मूल्य पुस्तिकामा ई–रिक्साका ब्याट्री ल्याउँदा ५० डलर भन्दा कम मूल्यांकन गर्न नपाइने व्यवस्था छ । त्यसैको फाइदा उठाउँदै आयातकर्ताहरुले महँगा ब्याट्री ५० डलर मूल्याँकन गराएर धमाधम नेपाल भित्र्याइरहेका छन् ।
ब्याट्रीको वास्तविक मूल्य ९० डलर माथि हो । तर, सरकारले बनाएको सन्दर्भ मूल्य पुस्तिकामाथि टेकेर व्यापारीले ५० डलर मूल्यांकन गराए जति पनि ब्याट्री नेपाल भित्र्याइरहेका छन् ।
अहिले नेपालका तराई क्षेत्रमा विद्युतीय रिक्सा छ्याप्छ्याप्ती छन् । त्यही रिक्सामा प्रयोग हुने ब्याट्रीको मूल्यांकन ५० डलरमा हुन्छ । तर, बजारमा महँगो मूल्यमा बिक्री भइरहेको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख वासुदेव ओलीका अनुसार सन्दर्भ मूल्य पुस्तिका नामक लक्षमणरेखाले अप्ठ्यारो पारेको बताए । ‘सरकारले ५० डलर भन्दा कम मूल्यांकनमा भित्र्याउन नपाउने व्यवस्था छ । आयातकर्ताले ५० डलर मूल्यांकन गराएर छिराए भने त्यसमा हामीले केही गर्न नसक्ने अवस्था छ’ ओलीले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘ब्याट्रीको वास्तविक मूल्य ८०/९० डलर पुगिसकेको हुन सक्छ । तर, यहाँ मूल्यांकन गराउँदा ५० डलरमा गराएका छन् ।’
भन्सार अधिकृत ओलीले ब्याट्रीको भोल्यूम धेरै नभएकाले हाम्रो ध्यान त्यताभन्दा अन्यत्र गएको र अब यस विषयलाई गम्भीर रुपमा हेर्ने बताए ।
कानुनी छिद्रताको प्रयोग गरेर केही आयातकर्ताले भन्सार राजस्वमा मात्रै छलेका छैनन्, आयकर पनि छली भएको आन्तरिक राजस्व विभागको निश्कर्ष छ ।
बढी मूल्यको ब्याट्री कम मूल्यांकनमा भित्र्याउने तर बजारमा बेच्दा वास्तविक मूल्य तिरेर ल्याउनेसँगै प्रतिस्पर्धा गरेकाले आयकरसमेत छलिएको देखिएको हो । एकातिर कम मूल्यांकन गराएपछि ब्याट्री भित्र्याउँदा उत्पादकलाई तिर्नुपर्ने बाँकी रकम हुन्डीमार्फत पठाउनुपर्छ । नेपालमा पनि वास्तविक कारोबार देखिँदैन ।
नेपालमा वार्षिक १ लाख थान ब्याट्री आयात भएको भन्सारको तथ्यांकबाट देखिन्छ । ९० डलरका दरले ब्याट्री नेपाल भित्रिँदा नेपालबाट १ अर्ब १३ रुपैयाँ बराबरको आयात भएको हुनुपर्ने हो । स्रोतका अनुसार नेपालमा ९० प्रतिशत विद्युतीय रिक्साका ब्याट्री ५० डलर मूल्यांकनमा भित्रिन्छन् । बाँकी १० प्रतिशत ब्याट्री मात्र वास्तविक मूल्यांकनमा आउने गरेका छन् । ९० हजार थान ब्याट्री ५० डलर मूल्यांकनमा भित्रिँदा ५६ करोड ७० लाख रुपैयाँ मात्रै हुन आउँछ । १० हजार थान ब्याट्री वास्तविक मूल्याँकनमा भित्रिँदा ११ करोड ३४ लाख रुपैयाँ हुन आउँछ ।
भन्सार विभागका अनुसार ब्याट्रीमा १५ प्रतिशत भन्सार, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । जति कम मूल्याँकनमा भित्र्यायो उत्ति कम रकम राज्यलाई कर तिर्दा हुने भएकाले कानुनी छिद्रताको उपयोग गरेर ब्याट्री आयात गरिरहेका छन् ।
उदाहरणका लागि ९० डरको ब्याट्री भनेको ११ हजार ३४० रुपैयाँ हुन आउँछ । १५ प्रतिशत भन्सार जोड्दा १३ हजार ४७ रुपैयाँ पुग्छ । त्यसमा पनि १० प्रतिशत अन्तःशुल्क लाग्छ । त्यो पनि जोड्दा १४ हजार ३१५ रुपैयाँ हुन आउँछ । त्यसमा पनि १३ प्रतिशत भ्याट जोडदा ९० डलरको ब्याट्रीको मूल्य १६ हजार १७५ हुन जान्छ ।
तर, त्यही ब्याट्री ५० डलर मूल्याँकनमा भित्र्याउने बित्तिकै झण्डै ४० प्रतिशत सस्तो पर्छ । ५० डलरको नेपाली मूल्य ६ हजार ३०० हुन्छ । त्यसमा १५ प्रतिशत भन्सार जोडिन्छ । सामानको मूल्य ७ हजार २४५ पुग्यो । त्यसमा १० प्रतिशत अन्तःशुल्क जोड्दा ७ हजार ९६९ रुपैयाँ पुग्यो । त्यसमा १३ प्रतिशत भ्याट जोड्दा ९ हजार ४ रुपैयाँ उसको मूल्य पर्छ ।
वास्तविक मूल्याँकन गरे त्यही ब्याट्री ल्याउँदा १६ हजार रुपैयाँ भन्दा माथि पर्छ भने भन्सारका कानुनी छिद्रता प्रयोग गरेर ल्याउँदा ९ हजार ४ रुपैयाँमा ब्याट्री नेपालमा आइपुग्छ । नेपालमा कानुनी छिद्रता प्रयोग गरेर ९० हजार थान ब्याट्री नेपाल आउने गरेको आयातकर्ताहरु बताउँछन् ।
बंगलादेशका ब्याट्रीमा मात्रै न्यूनबिजकीकरण
नेपालमा बंगलादेशबाहेक भारतबाट पनि विद्युतीय रिक्साका ब्याट्री आयात हुन्छ । बंगलादेशबाट डलरमा आयात हुन्छ भने भारतबाट भारुमा आउँछ । वर्षौदेखि भारतबाट विद्युतीय रिक्साका ब्याटी आयातकर्ता तथा ओकेज ब्याट्रीका म्यानेजर जीवन कोइरालाका अनुसार भारतबाट प्रतिथान विद्युतीय रिक्साको ब्याटी ६५ सय भारुमा नेपाल आउँछ । अर्थात भन्सार मूल्यांकन ६५ सय भारु हो । ६५ सय भारु भनेको १० हजार ४ सय रुपैयाँ नेपाली पर्छ ।
कोइरालाका अनुसार भारतबाट वास्तविक मूल्यमा आयात हुन्छ । बंगलादेशको जसरी भारतबाट न्यून मूल्यांकन गरेर नभित्रिने गरेको कोइराला बताउँछन् । जबकी, भारतीय ब्याट्री वीरगञ्जबाट आउँछ । त्यहाँ सन्दर्भ मूल्य पुस्तिकाअनुसार पनि नगरिने आयातकर्ताहरु बताउँछन् ।