काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिल लिमिटेडको व्यापार बढ्दै गएको छ । सन् २०२१ मा उद्योगले ६ अर्ब ४३ करोड २८ लाख रुपैयाँको स्टिलको व्यापार गरेको छ ।
सन् २०२० मा उद्योगले ६ अर्ब ९ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१९ मा ३ अर्ब ८० करोड ७३ करोड र सन् २०१८ को ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको स्टिल व्यापार गरेको थियो ।
सन् २०२१ मा टीएमटी बार बिक्रीबाट हुने आम्दानीको हिस्सा ९६ प्रतिशत रहेको छ । बाँकी आम्दानी रिब्ड वायर र बाइन्डिङ वायर बिक्रीबाट रहेको छ । कम्पनीले चुक्ता पुँजी बढाएर १ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।
लक्ष्मी देशको ठूलो स्टिल उद्योगमध्ये एक हो । लक्ष्मीमा न्यौपाने र अग्रवाल परिवारको लगानी रहेको छ । न्यौपाने परिवारको ५२ र अग्रवाल परिवारको ४५ प्रतिशत हिस्सा रहेको छ । बाँकी स्वामित्व संस्थागत लगानीकर्ताको छ ।
उद्योगले टीएमटी बार, रिब्ड वायर र बाइन्डिङ वायर उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता वार्षिक २ लाख टन छ । उद्योगले स्टिल उत्पादनका लागि आवश्यक पर्ने बिलेट भारतबाट आयात गर्दै आएको छ ।
कम्पनीको अध्यक्षमा टीकाराम न्यौपाने रहेका छन् । समूहको स्पिनिङ मिल, चिया बगान, सिन्थेटिकमा हिस्सेदारी रहेको छ । यस्तै प्याकेजिङ झोला, प्लास्टिक प्याकेजिङ र सिमेन्ट उद्योग रहेको छ ।
लक्ष्मी स्टिल सन २००८ देखि सञ्चालनमा आएको हो । स्टिल र सिमेन्ट उद्योगमा समूहका अन्य एकाइहरू जगदम्बा सिमेन्ट, सर्वाेत्तम सिमेन्ट, सर्वोत्तम स्टिल्स आदि व्यवसायको उत्पादन र वितरण पक्षहरूमा तालमेल गर्दै आएको छ ।
उद्योगले ६ अर्ब ६७ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । नयाँ उद्योग आउने क्रम बढेपछि पछिल्लो ४ वर्षयता नेपालमा स्टिलको उत्पादन बढ्दै गएको छ ।