काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मदिरा ल्याउँदासमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मौन देखिएको छ ।
सरकारले वैधानिक बाटोबाट मदिरा ल्याउन रोक लगाएपछि अहिले ड्युटी फ्रीबाट जति पनि मदिरा ल्याउनेहरु बढेका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका अधिकारीले विदेशबाट आउनेसँग सुन, चाँदी, हीरालगायतका सामान मात्र चेकजाँच गर्ने गरेका छन् ।
त्यसबाहेक कुन यात्रुले कति मदिरा ल्याएको छ भन्ने कुरामा उनीहरुले ध्यान दिइरहेका छैनन् ।
एउटै व्यक्तिले ४ देखि ५ लिटर मदिरा ल्याउँदासम्म भन्सार अधिकारीले कुनै रोकटोक वा सोधपुछसम्म पनि गरेका छैनन् ।
सरकारले औपचारिक माध्यमबाट तयारी मदिरा आयात गर्न रोकेपछि छिमेकी मुलुक भारत जाने र फर्किंदा ४ देखि ५ वटा बोतल लिएर आउने गरेका छन् । त्यसरी भित्रिने मदिरा भन्सार विभागले रोकेको छैन ।
‘केही दिनअघि थाइल्यान्डबाट फर्किंदा ४ बोतल चिभास रिगल लिएर आएको थिएँ । ती सबै मदिरा लगेजमै मिलाएर चाङ लगाएको थिएँ । तर, भन्सार अधिकारीले चेकजाँच गरे पनि उक्त मदिराबारे कुनै प्रश्न उठाएनन् र नेपाल प्रवेश गराएँ,’ एक यात्रुले भने, ‘एयरपोर्ट भन्सारलाई सुनको मात्रै चासो छ । अरु जेसुकै ल्याउन रोकटोक छजस्तो लागेन ।’
सुनको मामलामा भन्सार अधिकारी सचेत भए पनि एउटै व्यक्तिले ५ बोटल मदिरा ल्याउँदासम्म कुनै चासो नदिनुको अर्थ नबुझिएको ती यात्रुले बताए । ‘डराइ–डराइ मदिरा ल्याएको थिएँ । रोक्यो भने त्यही छाडिदिऊँला भनेको थिएँ । तर, सहजै भित्र्याएँ’ ती यात्रुले भने ।
विगत ६ महिनादेखि सरकारले पूर्णरुपमा मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । त्यसको असर नेपालका तारे होटलमा पनि देखिन थालेको छ । व्यक्तिगत रुपमा प्रयोग गर्नेले चोरी–पैठारीबाट भित्रिएको मदिरा सेवन गरिरहेका छन् ।
अहिले केही व्यक्ति मदिरा आयातको धन्दामा लागेको देखिन्छ । भारत गयो, ड्युटी फ्रीमा मदिरा किन्यो र नेपालमा ल्याएर महँगो मूल्यमा बेच्यो ।
एयरपोर्ट भन्सार विभागका महानिर्देशक महेश भट्टराई यस विषयमा आफू गम्भीर भएर लाग्ने बताए । ‘सुन तथा गरगहनामा
हाम्रो विशेष निगरानी छ । मदिरा पनि एउटा पासपोर्ट होल्डरले एउटाभन्दा बढी ल्याउन पाउँदैन,’ उनले भने, ‘यदि मनमौजी रुपमा मदिरा भित्रिरहेको रहेछ भने त्यसलाई रोक्छौं ।’
वार्षिक डेढ अर्बको मदिरा आयातलाई रोकेर सरकारले चोरी–पैठारीलाई मात्रै प्रश्रय दिइरहेको आक्षेप व्यापारीले लगाइरहेका छन् । औपचारिक रुपमा मदिरा नआउँदा त्यसको प्रत्यक्ष असर तारे होटलमा पर्न थालेको छ ।
चोरीबाट आउने मदिरा नरोकिने, एयरपोर्टबाट खुल्लमखुला मदिरा ल्याउन दिँदा राज्यले राजस्व नोक्सानी मात्रै गरेको छैन, अनौपचारिक अर्थतन्त्रसमेत मौलाइरहेको व्यापारीहरु बताउँछन् ।