काठमाडौं । त्रिवेणी ग्रुपको अन्नपूर्ण भेजिटेबल प्रडक्ट प्रालिको खाद्य तेल र वनस्पति घिउको व्यापारमा उछाल आएको छ । चालू आर्थिक वर्षको ९ महिनामा उद्योगले १२ अर्ब १९ करोड रुपैयाँको तेल र घिउ व्यापार गरेको छ । उद्योगले सन् २०२१ को भन्दा बढी कारोबार ९ महिनामामै गरेको छ ।
सन् २०२१ मा अन्नपूर्णको व्यापार ५८ प्रतिशतले बढेर ११ अर्ब ७ करोड रुपैयाँ पुगेको थियो । २०२० मा उद्योगले ६ अर्ब ९७ करोड ४ लाख रुपैयाँको कारोबार गरेको थियो भने २०१९ मा अन्नपूर्णले ५ अर्ब ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।
पछिल्ला वर्षमा उद्योगको व्यापारमा चमक आएको देखिन्छ । तेल र घिउको माग स्वदेश तथा विदेशमा बढेकाले व्यापारको ग्राफ उकालो लागेको उद्योगले जानकारी दिएको छ ।
सन् २०२१ मा उद्योगको बिक्री ७९ प्रतिशतले बढेको छ । यसबीचमा उद्योगको ऋण दायित्व पनि घटेर २ अर्ब ७५ करोड ३० लाख रुपैयाँमा झरेको छ । यसअघि २ अर्ब ८५ करोड रुपैयाँ थियो ।
उद्योगको पाम आयल, सोयाबिन र सनफ्लावर तेलको उत्पादन तथा प्रशोधन क्षमता वार्षिक ६० हजार टन रहेको छ । यस्तै तोरीको तेल उत्पादन क्षमता १० हजार र वनस्पति घिउको उत्पादन वार्षिक ७ हजार टन रहेको अन्नपूर्णले जनाएको छ ।
उद्योगले अमृत, सनस्टार र रानी ब्रान्डमा खाद्य तेल तथा घिउ बिक्री तथा वितरण गर्दै आएको छ भने पाम आयल, सनफ्लावर, तोरी र सोयाबिन विदेशबाट आयात गर्दै आएको छ ।
डलरमा कच्चा वस्तु आयात गरी भारु र नेपाली रुपैयाँमा तेल र घिउ बिक्री गर्दै आएको उद्योगले ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
खाद्य तेल उत्पादन तथा प्रशोधनका लागि त्रिवेणी ग्रुपले सन् १९९८ मा उद्योगको स्थापना गरेको हो । उद्योग लिपनीमाल बारामा रहेको छ ।
वीरगन्जमा रहेको सुक्खा बन्दरगाहबाट ११ किलोमिटर दूरीमा रहेको छ । नेपाल–भारत सीमामा उद्योग रहेकाले ढुवानी लागत सस्तो हुन गएको हो । यसको फाइदा अन्नपूणले लिइरहेको छ ।
संघई परिवार उत्पादन तथा प्रशोधन, बैंक, बिमा, जलविद्युत् र व्यापार व्यवसायमा संलग्न छ । संघई परिवार लामो समयदेखि खाद्य तेलको आयात र उत्पादनमा संलग्न रहेको छ ।