काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्नेबारे सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङ भाइस प्रेसिडेन्ट, केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल र षट्कोण आर्टस्का तर्फबाट निर्देशक प्रदीप भट्टराई, निर्माता रविद्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।
आगामी कात्तिक ११ मा रिलिज हुने उक्त चलचित्रमा मुख्य कलाकारका रुपमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायत कलाकारहरु छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सबल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगायतका फिल्ममा समेत सहकार्य गरेको थियो ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा षट्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्रान्डसँग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रवर्द्धनमा थप टेवा पुग्नाका साथै अन्य ब्रान्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए ।