काठमाडौं । लगानी बोर्डले १२०० मेगावाटको पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजना निर्माणका समझदारीपत्र (एमओयू) को मस्याैदा स्वीकृत गरेको छ ।
बोर्डले स्वीकृति प्रदान गरेकाले भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडसँग आयोजना विकासका लागि एमओयूको बाटो खुला गरेको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।
एमओयू भएपछि आयोजनाको काम अघि बढ्ने छ । एनएचपीसीले भारतमा ७ हजार मेगावाट बढी क्षमताको आयोजना विकास गरिसकेको छ ।
यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।
बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिब १ खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र एसआर–६ १ खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने अध्ययनले देखाएको छ ।
एनएचपीसीले जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ । यस्तै एनएचपीसीका ७ हजार ५३९ मेगावाट क्षमताका ११ वटा आयोजना निर्माणाधीन अवस्थामा छन् ।
निर्माणाधीन आयोजनासमेत जोड्दा उसको ३५ आयोजना पुग्ने छ । केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६१० मेगावाट पुग्ने छ । यस्तै केही ठूला आयोजना पाइपलाइनमा छन् । उत्पादन बढेपछि कम्पनीको आम्दानीका साथै नाफामा समेत वृद्धि हुनेछ ।
एनएचपीसीले विकास गरेको आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०२१/०२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको छ ।
यस अवधिमा एनएचपीसीको खुदनाफा ३५ अर्ब ३८ करोड भारु पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । एनएचपीसीले सिक्किम, अरुणाञ्चल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु एन्ड कश्मिर, उतराखण्ड र लदाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।