उदाहरण १
सुनसरीको दुहबीस्थित शुभलक्ष्मी इन्टरप्राइजेजले गत जेठमा बंगलादेशको कम्पनी कन्फिडेन्स ब्याट्रिज् लिमिटेडबाट ४ सय ३५ थान ई–रिक्साको ब्याट्री प्रतिथान ६२ डलरका दरले नेपालमा भित्र्यायो ।
उदाहरण २
सोही कम्पनीको उत्पादन रुपन्देहीको मनिरत्न मल्टी ट्रेडर्स चैतमा ४ सय ३५ थान ब्याट्री प्रतिथान ५० डलरका दरले भित्र्याएको गर्याे ।
उदाहरण ३
बंगलादेशको सोही कम्पनीबाटै उत्पादिन ब्याट्री टिम सिनर्जी नेपालले चैतमा प्रतिथान ८७ डलरका दरले १ सय ८५ थान आयात गर्याे । तीनवटा प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् ।
यी उदाहरण हेर्दा एउटै कम्पनीका एउटै क्षमता ब्याट्री आयात गर्दा थरीथरी प्रज्ञापन पत्र काँकडभिट्टा भन्सारबाट जारी भएका छन् । भन्सारका अधिकारीका अनुसार कन्फिडेन्सले १४० एम्पिएरका ब्याट्री उत्पादन गर्छ र सोही उत्पादन नेपालमा आइरहेका छन् ।
तर, यी ब्याट्रीको थरीथरी भन्सार मूल्यांकन गरेर भित्र्याएको छ । भन्सार विभागका अनुसार आर्थिक विधेयकमा ई–रिक्साका ब्याट्री न्यूनतम मूल्यांकन ५० डलर मात्रै तोकिएको छ । त्यही भएर केही व्यापारीले महँगो ब्याट्रीलाई ५० डलरको मूल्यांकन गरेर भित्र्याइरहेका छन् ।
स्रोतका अनुसार काँकडभिट्टा भन्सारका अधिकारीसँग सेटिङ गरेर ९० डलर पर्ने ई–रिक्साका ब्याट्री धमाधम ५० डलरमा भित्रिरहेका छन् । ई–रिक्साका ब्याट्री बंगलादेशबाट मात्रै आयात हुन्छ । केही अघिसम्म चीनबाट पनि ई–रिक्साका ब्याट्री आयात हुन्थ्यो । तर, अहिले नेपाल ई–रिक्साको ब्याट्रीमा पूर्णनिर्भर छ ।
भन्सार विभागका अनुसार नेपालमा वार्षिक १ लाख थान ई–रिक्साका ब्याट्री आयात हुन्छ । आयातित ब्याट्रीमध्ये ९० प्रतिशत न्यूनबिजीकरण भएर भित्रिने गरेका छन् ।
विभागका महानिर्देशक कमल भट्टराईले एउटै कम्पनीको एउटै उत्पादन तीन आयातकर्ताले ल्याउँदा मूल्यांकनमा कुनै फरक आउनु नपर्ने बताए । ‘तर, कसरी त्यस्तो भयो ? म काँकडभिट्टा भन्सार कार्यालयसँग बुझ्छ,’ महानिर्देशक भट्टराईले क्यापिटल नेपालसँग भने, ‘के कसरी त्यस्तो भएको हो ? बुझ्छु ।’
स्रोतका अनुसार काँकडभिट्टा भन्सारका अधिकारीको मिलेमतोमा न्यूनबिजीकरण गरेर ई–रिक्साका ब्याट्री आउने गरेको हो । खासगरी, तराई क्षेत्रमा ई–रिक्साको संख्या बढ्दै छ ।
न्यूनबिजीकरण गरेर ई–रिक्साका ब्याट्री भित्र्याउँदा त्यसले अर्थतन्त्रमा चौतर्फी असर पुगेको छ । न्यून मूल्यांकनमा ब्याट्री भित्र्याउनेहरुले जेन्युन तरिकाबाट आयात गर्नेले सरहकै मूल्यमा ब्याट्री बेचिरहेका छन् । स्रोतका अनुसार अहिले ई–रिक्साको ब्याट्रीको मूल्य १८ हजार रुपैयाँ छन् ।
न्यूनबिजीकरणमार्फत भित्र्याइएका ब्याट्री १८ हजार हाराहारीमै बेचिरहेका छन् । तर, १२ हजार चेकमार्फत र बाँकी ६ हजार रुपैयाँ नगद दिएर कारोबार गरिरहेका छन् । यसरी कारोबार गर्दा राज्यले ठूलो परिमाणमा राजस्वसमेत गुमाएको छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले न्यून बिजीकरण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने बताए । ‘काँकडभिट्टा नाकाबाट ठूलो परिमाणमा यस्ता ब्याट्री आउँछन्,’ उनले भने, ‘त्यहाँबाट रेकर्ड लिएर आवश्यक अनुसन्धान गर्छु ।’