काठमाडौं । विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन/मुग्लिन–पोखरालगायत देशका महत्वपूर्ण सडकहरुमा पहिरो गएपछि पन्छाउन धेरै समस्या देखिएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ ।
सोमबार समितिमा भएको नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान अवस्थाको छलफलमा भौतिक मन्त्रालयअन्तर्गतको सडक विभागले सडक सीमाभित्रका घर, बिजुलीका पोल तथा तारको कारण पहिरो गएपछि सडक पन्छाउन समस्या भएको जनाएपछि समितिले दुई मन्त्रालयबीच समन्वय गरेर काम गर्न निर्देशन दिएको हो ।
नारायणघाट–मुग्लिन सडक खण्डको लम्बाइ ३६ किलोमिटर रहेको छ । सो सडक सन् १९८२ मा चीनले अनुदानमा निर्माण गरेको हो । सडक विभागका महानिर्देशक (डीजी) अर्जुनजंग थापाले नारायणघाट–मुग्लिन सडक खण्डमा सडकभन्दा करिब ४ सय मिटर माथिबाट पहिरो जाने गरेको बताएका छन् ।
‘नारायणघाट–मुग्लिन सडकको कारणले पहिरो गएको छैन, शाखा सडकहरुको कारण ४ सय मिटरभन्दा माथिदेखि पहिरो आएकाले सडक अवरुद्ध हुन्छ ।’ समितिको छलफल कार्यक्रममा बोल्दै डीजी थापाले भने, ‘शाखा सडक खोल्नेलाई व्यवस्थित गर्नुपर्यो । त्यो क्षेत्रमा मेलम्चीको भ्रेमाथाङको जस्तै सानो रुप देखिन थालेको छ ।’
छलफल कार्यक्रममा सहभागी भौतिकमन्त्री मोहमद इस्तियाक राईले समितिको सुझावलाई मनन गरेर अगाडि बढ्ने जनाएका छन् । साथै नारायण–बुटवल सडक खण्ड निर्माण गर्ने ठेक्केदारसँग ठेक्का प्रक्रिया तोड्ने योजनामा मन्त्रालय रहेको मन्त्री राईको भनाइ छ ।
त्यस्तै समिति सभापति कल्याणकुमारी खड्काले सार्वजनिक यातायातमा स्वचालित मूल्य प्रणाली लागू भए पनि सवारी चालकले मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएको प्रति मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । साथै नियमित र भरपर्दो रुपमा अनुगमन गर्न भौतिक मन्त्रालयलाई उनले निर्देशनसमेत दिएकी छन् ।