एजेन्सी । टाटा मोटर्सको सहायक कम्पनी टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टीपीईएमएल) ले ७२५.७ करोड भारुमा गुजरातको सानन्दस्थित फोर्ड इन्डियाको म्यानुफ्याक्चरिङ प्लान्ट अधिग्रहण गर्ने भएको छ ।
अधिग्रहणका लागि युनिट ट्रान्सफर एग्रिमेन्ट (युटीए) मा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार टाटाले सम्पूर्ण जग्गा र भवन, सवारीसाधन निर्माण प्लान्टसँगसँगै मेसिनरी र उपकरण प्राप्त गर्नेछ ।
यस्तै फोर्ड इन्डिया सनन्दमा कार्यरत योग्य कर्मचारीहरु पनि टाटा मोटर्समा परिवर्तित हुनेछन् ।
फोर्ड इन्डियाले टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीबाट पावरट्रेन निर्माण प्लान्टको जग्गा र भवन सहमतिमा लिजमा लिएर आफ्नो सञ्चालन जारी राख्ने टाटाले जनाएको छ ।
ईभी सहायक कम्पनीले पावरट्रेन निर्माण प्लान्टका योग्य कर्मचारीलाई फोर्ड इन्डियाले बन्द गरेमा रोेजगारी प्रदान गर्नेसमेत सहमति बनेको छ ।
गुजरात सरकार, टीपीईएमएल र एफपीएलले लेनदेनका लागि सबै स्वीकृति समर्थन गर्न ३० मेमा त्रिपक्षीय एमओयू गरिसकेका छन् ।
‘यो अधिग्रहण समय सापेक्ष हो,’ टाटाले भन्यो, ‘सबै सरोकारवालाहरुको जित पनि हो । यसले वार्षिक ३ लाख एकाइको अत्याधुनिक उत्पादन क्षमता अनलक गर्नेछ, जुन प्रतिवर्ष ४ लाख २० हजार एकाइसम्म बढ्न सक्छ ।’
फार्ड मोटरका ट्रान्सफर्मेसन अफिसर स्टिभ आर्मस्ट्रङका अनुसार यो घोषणा भारतमा चलिरहेको कम्पनीहरुको व्यापार पुनर्गठनमा एउटा महत्वपूर्ण कदम हो, जुन रणनैतिक परिवर्तनका लागि फोर्ड प्लस योजनाको हिस्सा हो ।
कम्पनीले गत वर्षको सेप्टेम्बरमा पुनर्गठन अभ्यासअन्तर्गत भारतमा आफ्ना दुई प्लान्टमा सवारीसाधन उत्पादन बन्द गर्ने घोषणा गरेको थियो ।