काठमाडौं । चिनियाँ कम्पनीले नेपालमा पेट्रोलियम पदार्थको पहिलो चरणको अध्ययन सम्पन्न गरेको छ । कोरोना संक्रमण कम भएसँगै नेपाल आएको चिनियाँ टोलीले पेट्रोलियम पदार्थको पहिलो चरणको अध्ययन सम्पन्न गरेको हो ।
तीन चरणमा अध्ययन गर्नुपर्नेमा हालसम्म पहिलो चरणको अध्ययन मात्रै सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बताए ।
सन् २०१६ मा नेपालले चीनसँग पेट्रोलियम पदार्थको अन्वेषणको सम्झौता गरेको थियो । नेपाल–चीन सरकारबीच (जीटूजी) प्रक्रियाबाट उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार चीनले सन् २०२१ मा अन्वेषणको काम सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोनाका कारण अन्वेषणले पूर्णता पाउन सकेको छैन । जसकारण दुई वर्ष समय थप गरी अध्ययन गर्ने तयारी परियोजनाले गरेको छ ।
केही दिनअघि मात्रै चिनियाँ टोलीले पेट्रोलियम पदार्थको अध्ययन सम्पन्न गरको छ । सो अध्ययनले दैलेख जिल्लामा पेट्रोलियम पदार्थको सम्भावना देखाएको नापित बताउँछन् ।
‘दैलेखमा सम्भावना देखिएको छ, त्यहाँ कति पेट्रोलियम पदार्थ छ भन्ने थाहा पाउन अझै अध्ययन र ड्रिल (जमिनमुनि खन्ने काम) गर्न बाँकी नै छ,’ नापितले क्यापिटल नेपालसँग भने, ‘फेरि कोरोना संक्रमण बढ्न थालेकाले चिनियाँ टोली फर्किन लागेको छ । यसअघि उनीहरु हवाई माध्यम खुला भएपछि नेपाल आएका हुन् । अरू समयमा इमेलमार्फत सम्पर्क हुन्थ्यो ।’
कोरोना संक्रमण बढेसँगै चिनियाँ पक्ष साउनको अन्तिम साता फर्किने तयारी गरेको छ । तर, कोभिड संक्रमण भए÷नभएको परीक्षण गरिरहेको उक्त टोली संक्रमण देखिएमा तत्काल फर्कन सक्दैन ।
नेपाल आएर पेट्रोलियम पदार्थको पहिलो चरणको अध्ययन सम्पन्न गरेको टोलीले नेपाललाई अहिले नै रिपोर्ट भने दिइसकेको छैन । चीनमा गएर आवश्यक तयारी पूरा गरेपछि मात्रै सो रिपोर्ट नेपाललाई दिने परियोजना प्रमुख नापितले बताए ।
साथै नेपालमा पेट्रोलियम पदार्थ कति छ ? पेट्रोलिय पदार्थ उत्खनन गर्न खर्च कति लाग्छ ? हालसम्मको अध्ययनमा कति खर्च भयो भन्नेसमेत नेपाललाई थाहा छैन ।
उक्त विषयमा चीनले नेपाललाई जानकारी नदिँदा फरक नपर्ने उनी बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘सबै खर्च चीनले नै गर्छ, त्यसैले खर्चको विषयमा नभन्दैमा केही फरक पर्दैन । तर, ड्रिल नगरी कति पेट्रोलियम पदार्थ छ भन्ने थाहा पाउन सकिँदैन ।’
चिनियाँ टोलीले दैलेखको श्रीस्थान, नाभिस्थान र पादुकास्थानमा पेट्रोल र ग्यासको सम्भावना रहेको जनाएको छ । साथै मुक्तिनाथमा पनि सम्भावना रहेको बताइएको छ । ज्वाला बलेको भनेर हिन्दूहरुले धार्मिक आस्थाका रुपमा लिइरहेका ठाउँमा पनि खानी विभागका लागि अनुसन्धानको विषय रहेको उनको भनाइ छ ।
४ किमि ड्रिल गर्नुपर्ने
पेट्रोलियम पदार्थ निकाल्न लागि ४ किलोमिटर गहिराइसम्म खन्नुपर्ने परियोजनाले जनाएको छ । तर, ड्रिलिङ गर्ने कार्य कहिलेबाट सुरु हुन्छ भन्ने कुरा निश्चित भएको छैन ।
यद्यपि ड्रिलिङ कार्य सुरु गरेको करिब ६ महिनामा जमिनमुनिको पेट्रोलियम पदार्थ भेटिने नापितको भनाइ छ । उक्त ड्रिलिङको कार्य अन्वेषणको दोस्रो चरण हो ।
अध्ययनले दैलेखमा पेट्रोल र ग्यासको सम्भावना रहेको देखिएको छ । पाल्पासम्म अध्ययन गरेको चिनियाँ टोलीले दैलेखमा पहिला ड्रिल गर्ने भएको हो । अन्य क्षेत्रमा क्रमशः अध्ययन र ड्रिल हुने बताइएको छ ।
‘अहिले पेट्रोलियम पदार्थको सम्भावना देखिए पनि कस्तो गुणस्तर र कति परिणाममा छ भन्ने यकिन भएको छैन । त्यसको लागि ड्रिल नै गर्नु पर्छ,’ परियोजना प्रमुख नापितले भने ।
सम्झौता गर्दा पनि अध्ययन मात्रै गर्ने सम्झौता भएकाले त्यसपछि चीनले पेट्रोलको क्षेत्रमा काम गर्न पाउँदैन । उत्खनन गर्नुपर्यो भने पनि फेरि सम्झौता गर्नुपर्ने हुन्छ ।