काठमाडौं । महिला उद्यमी महासंघ नेपालले छैटौँ अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ आयोजना गर्ने भएको छ । भदाै २ देखि ६ गते सम्म हेरिटेज गार्डेन सानेपामा हुने मेलाबारे महासंघले आइतबार एक कार्यक्रमकाे आयाेजना गरेर जानकारी गराएकाे हाे ।
महासंघले ५ वर्ष देखि अन्तर्राष्ट्रिय महिला व्यपार मेला आयोजना गर्दै आइरहेको छ । मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ । यस्तै, देशभित्रका विभिन्न जिल्ला सघंका महिला उद्यमीहरुको सक्रिय सहभागिता रहनेछ।
नेपालमा उत्पादन भएका वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वद्धन गर्ने उद्देश्यले महिला उद्यमी महांसघ नेपाल, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सानिमा बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, सिप्रादी ट्रेडिङ्ग प्रालिले मेलाको प्रायोजन गरेका छन् । वमन्स बैंक, एफसीए, आइएलओ, द एसिया फाउन्डेसन र सीइसीआईलगायतका संस्थाले सहयोग गरेका छन् ।
उक्त मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिवुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आर्कषक ढंगले प्रर्दशनीमा राखिनेछन ।
यस मेलामा जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहनेछन । अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाले उद्यमी महिलाहरुको सिप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफनो पहिचान बनाउन सघाउ पुर्याउनुका साथै उनीहरुलाई अगाडि बढ्न प्रोत्साहित गर्ने विश्वास महासंघको छ ।
यस मेलामा जम्मा १०६ वटा स्टलहरु रहनेछन । स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बंगलादेश आदिका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।