काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ ।
माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । याेसँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु पाउने माई पेले जनाएको छ ।
यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पेको भनाइ छ । माई पे बाट १ हजार रूपैयाँको मोबाइल टपअप गरेमा भने ४ प्रतिशत (४० रूपैयाँ) फिर्ता हुन्छ । जसमा २० रूपैयाँ क्यासको रुपमा वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माई पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।
यसरी प्राप्त भएको क्वाइन ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । भने अर्काे कारोबारको रुपमा १ हजारको कुनै इन्टरनेटको बिल भुक्तानी गर्दा माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।
पहिलो विकल्प छनौट गर्दा वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा वालेटमा बैंक लिंक गरेमा बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिन्छ ।
माइ पेका अनुसार १ हजारको बिल तिर्दा ९ सय ८० रुपैयाँ बालेटमा भएको रुपैयाँबाट र २० रुपैयाँ नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सकिनेछ । यस भुक्तानी पछि क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सकिन्छ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पेका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोगकर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।
‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’