काठमाडौं । तराई तथा मध्यपहाडी इलाकामा इलेक्ट्रिक रिक्सा (ई–रिक्सा) को बजार विस्तार हुँदै गइरहेको छ । सोसँगै त्यसमा प्रयोग हुने ब्याट्री पनि न्यून मूल्यांकनमा भित्रिने क्रम बढ्न थालेको पाइएको छ ।
ई–रिक्साको बजार विस्तार भएसँगै बंगलादेशबाट ठूलो परिमाणमा ब्याट्री न्यूनबिजकीकरण भएर भित्रिने गरेको पाइएको हो । भन्सारमा न्यून मूल्यांकन गराएर भित्रिएका ब्याट्री झापा, विराटनगर, इटहरी, वीरगन्ज हुँदै बुटवलसम्म पुग्ने गरेका छन् ।
भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा न्यूनबिजकीकरण भएर भित्रिने गरेको खुलेको हो । सरकारले ई–रिक्साको ब्याट्रीको न्यूनतम मूल्यांकन ५० डलर तोकेको छ । त्यसैको फाइदा उठाउँदै व्यापारीले ५० डलरमै मूल्यांकन गराएर ठूलो परिमाणमा ब्याट्री भित्र्याउने गरेका छन् ।
नेपालमा बंगलादेशबाट मात्रै ई–रिक्साको ब्याट्री भित्रिने गरेको छ । त्यहाँबाट आउने ब्याट्रीको नाका काँकडभिट्टा पर्छ । त्यहीँका कर्मचारीको सेटिङमा ५० डलरमै धमाधम ब्याट्री नेपाल आइरहेको छ ।
एक थान ब्याट्रीको मूल्य बंगलादेशमै ९० डलर पर्दा व्यापारीले भने ५० डलरमा भित्र्याइरहेका छन् ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १ लाख थान ई–रिक्साका ब्याट्री नेपाल भित्रिएको देखिन्छ । तीमध्ये ९० प्रतिशत न्यून मूल्यांकन र १० प्रतिशत मात्रै जेन्युन तरिकाले भित्रिने गरेको देखिएको छ ।
क्यापिटल नेपाललाई प्राप्त प्रज्ञापनपत्रअनुसार बुटवलको मणिरत्न मल्टी ट्रेडर्स प्रालिले ४३५ थान ब्याट्री ५० डलरका दरले भित्र्याएको छ । नेपालको कम्पनीले बंगलादेशको कन्फिडेन्स ब्याट्रिज् लिमिटेडले उत्पादन गरेको ब्याट्री ल्याएको हो । जबकि, उक्त कम्पनीले बनाएको प्रत्येक ब्याट्रीको मूल्य ९१ डलर भन्दा कम छैन ।
बंगलादेशको सोही कम्पनीले बनाएको ब्याट्री सुनसरीको दुहवीस्थित शुभलक्ष्मी इन्टरप्राइजेजले ६२ डलरका दरले ४६५ थान भित्र्याएको छ ।
एउटै कम्पनीले उत्पादन गरेको ब्याट्री नेपालका दुई फरक–फरक क्षेत्रमा आयात गर्दा फरक–फरक मूल्यको प्रज्ञापनपत्र जारी भएको छ । तर, दुवै ठाउँका लागि ब्याट्री भने काँकडभिट्टाबाटै आएका हुन् ।
नेपालमा १४० एमपिएर र १३० एमपिएर ब्याट्री भित्रिन्छन् । ती दुवै ब्याट्रीको मूल्य ९० डलरमाथि पर्छ ।
न्यूनबिजकीकरणमार्फत भित्रिएका ब्याट्रीका कारण जेन्युन तरिकाले भित्रिएका ब्याट्रीलाई प्रतिस्पर्धा गर्नै सकस भइरहेको छ । भन्सार विभागका अनुसार ब्याट्रीको १५ प्रतिशत भन्सार, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । ९० र ५० डलरमा भित्रिने ब्याट्रीको मूल्यबीच ठूलो अन्तर हुँदा प्रतिस्पर्धा गर्नै नसकिने अवस्था बनिरहेको छ ।