काठमाडौं । नयाँ सञ्चालक समिति (बोर्ड) आएपछि सिभिल बैंकले व्यवसाय विस्तारमा छलाङ मारेको छ । सुस्त गतिका कारण नाफालगायत अन्य वित्तीय सूचकमा पुछारमा रहेको बैंकले आज लोभलाग्दो वित्तीय प्रगति गरेको छ । यद्यपि सिभिलले हिमालयन बैंकसँग मर्जमा जान समझदारी (एमओयू) गरेको छ । केही महिनापछि सिभिल हिमालयन बैंकमा समाहित हुने छ ।
गत मंसिरदेखि बैंकको अध्यक्षमा उद्योगपति प्रतापजंग पाण्डे छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा विभिन्न १७ वटा सूचकहरु मध्ये सिभिल बैंकले १५ सूचकमा सुधार गरेको छ । खुदनाफा, वितरणयोग्य नाफा, निक्षेप परिचालन, कर्जा लगानी, सञ्चित कोष, प्रतिसेयर आम्दानी, ब्याज आम्दानी र लाभांश दिने क्षमतालगायतका सूचकमा बैंकले छलाङ नै मारेको सार्वजनिक गरिएको गत आर्थिक वर्षको वित्तीय विवरणले देखाएको छ ।
बैंकको खुद नाफा १६२.३६ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले १ अर्ब ३८ करोड ४६ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले ५२ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । अघिल्लो वर्षको तुनामा बैंकको खुदनाफा साढे ८६ करोड रुपैयाँ बढेको छ । हाल सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरु मध्ये नाफा वृद्धिदरको आधारमा सिभिल अग्रस्थानमा छ ।
सिभिल बैंकको वितरणयोग्य नाफा १२०.६० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ४५ करोड रुपैयाँ रहको बैंकको वितरणयोग्य नाफा गत वर्ष १ अर्ब रुपैयाँ नाघेको छ । सञ्चित कोषको आकार २४.४५ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १४९.८६ प्रतिशत बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ ।
सिभिल बैंकका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ सिभिल सहकारीका बचतकर्ता ठगीको आरोपमा पक्राउ परेपछि अध्यक्षमा प्रतापजंग पाण्डे नियुक्त भएका हुन । पाण्डेको आगमनसँगै बैंकले सफलता हात पार्न सफल भएको हो । २०७८ जेठ २८ गतेबाट सुनिलकुमार पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका हुन । पोखरेल सीईओ भएको ६ महिनामा पाण्डे सिभिलका अध्यक्ष भएका छन् ।
व्यवसायिक योजना बनाएर अघि बढेका कारण बैंकले प्रगति गरेको भनाई अध्यक्ष पाण्डेको छ । बैंकले लिएको व्यवसायिक योजनामा सञ्चालक समितिको सहजीकरण र कुशल व्यवस्थापन र राम्रो टिमवर्कका कारण लक्ष्यअनुसार बैंक अघि बढेको पाण्डेले बताए ।
सेयरधनीको कोणबाट निकै महत्वपूर्ण मानिने वितरणयोग्य नाफा बैंकले १ अर्ब रुपैयाँ माथि पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो नाफा ४५ करोड रुपैयाँ भन्दा कम थियो ।
ब्याज आम्दानी ६४.३१ प्रतिशतको वृद्धि
बैंकहरुको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानीमा ६४.३१ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/०७८ को चौथो त्रैमाससम्ममा २ अर्ब २१ करोड खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष ०७८/०७९ को चौथो त्रैमाससम्म ३ अर्ब ६४ करोड खुद ब्याज आम्दानी पुर्याएको छ । सञ्चालन नाफामा १३९.२५ प्रतिशतको वृद्धि गर्दै २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
निक्षेप र कर्जा लगानीमा विस्तार
असार मसान्तसम्म बैंकले ९० अर्ब निक्षेप संकलन गरी ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा क्रमश ६.३० र ४.८८ प्रतिशतले बढेको छ ।
किताबी मूल्य
बैंकको प्रतिसेयर नेटवर्थ (किताबी मूल्य) १३२ रुपैयाँ ४३ पैसा छ ।
खराब कर्जा
बैंकको खराब कर्जा सामान्य ०.०३ प्रतिशत माथि गएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ दशमलव ०५ प्रतिशत रहेको खराब कर्जा अहिले १ दशमलव ०८ प्रतिशत रहेको छ ।
बैंकको ब्याजदर अन्तर अर्थात स्प्रेडदर ४ दशमलव ४० प्रतिशत अधिकतम हुन पाउने नियम छ । सिभिल बैंकको स्प्रेडदर ४ दशमलव २९ प्रतिशत मात्र छ ।
सीडी रेसियोमा सहज
बैंकको सीडी रेसियो ८५.४६ प्रतिशत रहेको छ । समालिएर कारोबार गर्नाले बैंकलाई तरलताको त्यति दबाब नभएको र केही अझै लगानीयोग्य पुँजी (तरलता) बैंकमा रहेको छ ।