काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजनाबाट भारतीय लगानीकर्ता बाहिरिएको छ ।
वित्तीय संकट आएर टाट पल्टिएपछि जी ग्रुपअन्तर्गतको एस्सल इन्फ्रा प्रोजेक्ट लिमिटेडले एस्सल क्लिन सोलु हाइड्रोपावरमा रहेको आफ्नो सबै स्वामित्व बेचेर बाहिरिन लागेको हो । एस्सलको स्वामित्व नेपालको त्रिवेणी र विशाल ग्रुपले लिएका छन् । बिक्रीपछि सो आयोजनामा नेपालीको स्वामित्व हुनेछ ।
एस्सलले कम्पनीको स्वामित्व बिक्री स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा दरखास्त दिएको छ । आयोगले स्वीकृति दिएपछि आयोजनाको सबै स्वामित्व नेपाली ग्रुपमा हस्तान्तरण हुने भएको छ । आयोजनाको स्वामित्व बिक्रीका लागि एस्सलले दरखास्त दिएको आयोगका सचिव गोकर्ण पन्थले पुष्टि गरे ।
आयोजनामा त्रिवेणी र विशाल ग्रुपलगायत १३ जनाले स्वामित्व खरिद गर्ने जानकारी गराएको उनले बताए । त्रिवेणी र विशाल ग्रुपको लगानीमा ५४ मेगावाटको लिखु–४ आयोजनाबाट गत माघदेखि विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको विकासकर्ता ग्रीनभेन्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिसकेको छ ।
एस्सल क्लिन सोलु हाइड्रोपावरको कुल सेयर ६० लाख १२ हजार २५० कित्ता रहेको छ । कम्पनीमा सबैभन्दा बढी स्वामित्व एस्सेल इन्फ्राको छ । एस्सल इन्फ्राको २९ लाख ४६ हजार कित्ता स्वामित्व छ । त्यसपछि दोस्रोमा क्लिन डेभलपर्सको १३ लाख ८२ हजार ८ सय १६ कित्ता छ ।
ग्रीनभ्याली हाइड्रोपावरको १० लाख २२ हजार ८७, सालिमार इन्भेस्टमेन्टको २ लाख ४० हजार ४ सय ९०, विन्दवासिनी इन्भेस्टमेन्टको ३ लाख ६ सय १२ र नेप्सिन इन्भेस्टमेन्टको १ लाख २० हजार २ सय ४५ कित्ता स्वामित्व रहेको छ ।
एस्सल बाहेक सबै लगानीकर्ता नेपाली हुन् । त्रिवेणी र विशाल ग्रुपले एस्सलको स्वामित्वमा रहेको २९ लाख ४६ हजार कित्ता सेयर खरिद गर्न लागेका हुन् । यो कुल चुक्ता पुँजीको ४९ प्रतिशत हो । तल्लो सोलुको सेयर कतिमा किनबेच भएको खुल्न सकेको छैन ।
सेयर किनबेचको काम भइसकेर स्वामित्व हस्तान्तरणलगायत अन्य कानुनी प्रक्रिया अघि बढेको कम्पनी स्रोतको भनाइ छ । छिट्टै कम्पनीको स्वामित्व त्रिवेणी र विशालको नाममा आउने छ । त्रिवेणी र विशाल ग्रुप जलविद्युतमा साझेदार भएर अघि बढेका छन् ।तल्लो सोलु जलविद्युत् आयोजना नदी प्रवाही (रन अफ दि रिभर) रहेको छ ।
आयोजना बन्यो महँगो, प्रतिमेगावाट लागत साढे २२ करोड
आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएको छ । लागतको हिसाबले तल्लो सोलु आयोजना महँगो बनेको छ । महँगोमा निर्माण हुन लागेको तल्लो सोलु पहिलो आयोजना हो ।
यसको प्रतिमेगावाट लागत २२ करोड ३४ लाख रुपैयाँ रहेको छ । आयोजनाको लागत ९९.६८ रुपैयाँ हुँदा तय गरिएको छ । अहिले डलर बढेका १२७ हारहारीमा रहेकाले लागत झनै बढ्ने संभावना छ । आयोजनामा ७५ प्रतिशत स्वदेशी तथा विदेशी बैंकको ऋण लगानी तथा बाँकी २५ प्रतिशत संस्थापकको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
एफएमओ र डीईजी बैंकको लगानी
आयोजनामा नेदरल्यान्डको एफएमओ, डिइजीको ऋण लगानी रहेको छ । नेपाली बैंकको नेतृत्व प्राइभ कमर्सियल बैंकले गरेको छ । जसअनुसार आयोजनामा एफएमओको ४ करोड ५० लाख डलर फिक्सड लोन र १ करोड डलर फोल्टिङ लोन रहेको छ । यस्तै डीईजीको २ करोड डलर फिक्सड र ५० लाख डलर फ्लोटिङ रहेको छ ।
प्राइम कमर्सियल बैंकले ८० करोड, नेपाल एसबीआई बैंकले ७० करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) ले ६० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
यस्तै प्रभु बैंकको ५० र सिद्धार्थ बैंकको ४० करोड रुपैयाँ ऋण लगानी भएको छ । कम्पनीले सरकारलाई सबैभन्दा धेरै अग्रिम रकम (अफ फ्रन्ट कस्ट) प्रतिस्पर्धाबाट आयोजना निर्माणका लागि छानिएको हो । कम्पनीले २६ करोड रुपैयाँमा आयोजना खरिद गरेको हो।
गलत डिजाइनले आयोजना संकटमा
आयोजनाको काम अन्तिम चरणमा पुगेको बताइए पनि सम्पन्न हुन अझै २ वर्षभन्दा बढी लाग्ने ऋण लगानी गरेको मध्ये एक बैंकका अधिकारीले बताए । सरकारले चालू आर्थिक वर्षमा सक्ने आयोजनाको सूचीमा तल्लो सोलुलाई राखेको छ।
आयोजनाले २०१९ बाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि कोरोना महामारी र सुरुङलगायत बराजमा आएको समस्याले ढिलाइ हुने भएको छ। तर, आयोजनामा अहिले सुरुङलगायत बराजमा ठूलो समस्या आएको बताइएको छ। आयोजनाको सिभिल ठेकेदार भारतको पटेल इन्जिनियरिङ लिमिटेड रहेको छ ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन भारतीय कम्पनीले बनाएको छ। भारतीय परामर्शदाताले डिजाइनै गलत बनाएपछि आयोजनामा अहिले समस्या आएको बताइएको छ। बैंकहरुले डिजाइनको पुनरावलोकन गर्न दिएको सुझाव कार्यान्वयन नगर्दा यस्तो अवस्थामा आएको बताइएको छ ।
आयोजना २०७३ साउनदेखि निर्माण सुरु भएको हो। आयोजनाको सुरुङको लम्बाइ ४.२ किलोमिटर लामो रहेको छ। आयोजना सम्पन्न गर्न अझै २ वर्ष लाग्ने बताइएको छ। आयोजनाको संरचना सोलुखुम्बुको सोलुखोलामा रहेको छ ।