काठमाडौं । निजी लगानीमा स्थापना भएको शुभश्री अग्नि सिमेन्ट उद्योग प्राइभेट लिमिटेडको व्यापार २८ प्रतिशतले बढेको छ । सन् २०२१ मा उद्योगले २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको सिमेन्ट व्यापार गरेको छ ।
सन् २०२० मा उद्योगले १ अर्ब ९३ करोड ३० लाख र सन् २०१९ मा २ अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको शुभश्रीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सन् २०२० को तुलनामा २०२१ मा शुभश्रीको सञ्चालन आम्दानी ५४ करोड ४० लाख रुपैयाँ बढेको छ। वित्तीय विवरणअनुसार उद्योगको व्यापार बढ्दै गएको देखिन्छ । क्लिङकर र सिमेन्टको व्यापार बढेपछि उद्योगको सञ्चालन आम्दानीमा विस्तार भएको हो ।
सन् २०२२ को ९ महिनामा उद्योगको सिमेन्ट बिक्रीमा कमी आएको छ । शुभश्रीले ९ महिनामा २ अर्ब १ करोड रुपैयाँको मात्र व्यापार गरेको छ। यद्यपि सिमेन्टको बिक्री बढ्ने संभावना रहेको छ । पीपीसी सिमेन्टको मूल्य घटेर गत वर्ष प्रतिबोरा ४३० देखि ५१८ रुपैयाँसम्म कारोबार भएको थियो । उद्योग प्यूठान ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेकाे छ ।
यस्तै, ओपीसी सिमेन्ट प्रतिबोरा ४९६ देखि ५७० रुपैयाँसम्म किनबेच भएको छ । कच्चा वस्तुको लागतमा भएको वृद्धिले उद्योगको मार्जिन घटेर २९.३० प्रतिशतमा झरेको छ । सन् २०२० मा मार्जिन ३५.९४ प्रतिशत थियो ।
सन् २०१३ मा स्थापना भएको शुभश्रीले सिमेन्ट उत्पादनका लागि चाहिने क्लिङकर उत्पादन गर्दै आएको छ । उद्योगको दैनिक क्लिङकर उत्पादन क्षमता ७०० टन रहेको छ । उद्योगले कोइला, जिम्सनलगायत अन्य फलामजन्य वस्तुबाट क्लिङकर उत्पादन गर्दै आएको छ ।
उद्योगले भारत, अष्ट्रेलियलगायत मुलुकहरुबाट कोइला आयात गर्दै आएको छ। उद्योगको दैनिक १२०० टन सिमेन्ट उत्पादन क्षमता छ । शुभश्रीले सिमेन्ट उत्पादन सन् २०१९ र क्लिङकर २०१७ देखि उत्पादन थालेको हो ।
उद्योगले खानी विभागबाट दुईवटा खानी सञ्चालनका लागि अनुमति पाएको छ। जसअनुसार प्युठानमा ८६ लाख टन र दाङमा ४३ लाख टन खानी उत्खनन्को अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
यी दुई खानीबाट उत्खनन हुने कच्चा वस्तुको प्रयोगबाट आउँदो ४६ वर्षसम्म दैनिक १२०० टन सिमेन्ट उत्पादन हुनेछ। नेपालमा सडक, पुल, जलविद्युत र होटललगायतका ठूला पूर्वाधार निर्माण भइरहेकाले आगामी दिनमा सिमेन्टको माग उच्च हुने देखिएको छ। उद्योगले ४ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
उद्योगको मुख्य लगानीकर्तामा अग्नी सिमेन्ट उद्योग रहेको छ। ग्रुपको सिमेन्ट, अस्पताल र शिक्षा क्षेत्रमा पनि लगानी रहेको छ । उद्योगको अध्यक्षमा कृष्णप्रसाद पोखरेल रहेका छन् । यस्तै प्रवन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् ।