काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्ष ०७८/०७९मा नाफा ९.८३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ४५ करोड ५२ रुपैयाँ बढी नाफा गरेको शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।
साउन १ गतेदेखि नबिल र नेपाल बंगलादेश (एनबी) बैंककले एकिकृत कारोबार सुरु गरेका हुन् । नबिलले एनबी बैंकको सबै नाफा रिजर्भमा राखेर आफ्नो मात्र देखाएको छ ।
बैंकको रिजर्भको आकार बढेर २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको रिजर्भ १५ अर्ब ६९ करोड रुपैयाँ थियो । एनबी बैंकको नाफासमेत जोड्दा बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता ४० प्रतिशत पुग्ने देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी बढेर ९ अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्ष बैंकले ८ अर्ब ७ करोड ब्याज आम्दानी गरेको थियो । त्यसैगरी बैंकको खुद फि तथा कमिसन बढेर १ अर्ब ५८ करोड, सञ्चालन आम्दानी ११ अर्ब ९३ करोड र सञ्चालन नाफा ७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८८ पैसा, मूल्य आम्दानी अनुपात ३२.८० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३३० रुपैयाँ ३७ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी बढेर २२ अर्ब ८२ करोड पुगेको छ । त्यसैगरी, बैंकको निक्षेप ४५.९७ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब र कर्जा लगानी ५२.०४ प्रतिशत बढेर ३ खर्ब ०१ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा ०.८४ प्रतिशतबाट बढेर १.५४ प्रतिशत पुगेको छ । त्यसैगरी बैंकको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत रहेको छ ।