काठमाडौं । नेपालमा जापानिज भाषा र सी परीक्षा उतीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई छिटो जापान पठाउने विषयमा सहजिकरण गरिने भएको छ ।
बिहीबार बसेको नेपाल जापान संयुक्त कार्यसमितिको बैठकले नेपालीहरुलाई छिटो जापान पठाउने विषयमा सहजिकरण गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले नेपाल जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा सो को तयारी गर्ने, जापानको स्पिसिफाइड स्किल वर्कर एसएसडब्लु प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निमार्ण गर्नुपर्ने कार्यविधि बनाउने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेका प्रवक्ता डा. थानेश्वर भुसालले जापान सरकारले त्यहाँको औपचारिक माध्यमबाट एसएसडब्लु प्रणाली अन्तरगत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउने निर्णय भएको जानकारी दिए ।
सन् २०१९ मा सम्पन्न भएको श्रम समझदारीपत्रअनुसुार जापानको स्पिसिफाइड स्किल वर्कर प्रणालीमार्फत नेपाली नागरिक लाई जापानमा रोजगारी दिने विषयमा संयुक्त कार्य समितिको दोस्रो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार र मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावााके नेतृत्वमा चार सदस्यीय प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले नेपाल जापान श्रम समझदारीपत्र कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सम्बन्धमा संयुक्त कार्यसमिति बैठकको सफलताको शुभकामना दिएका थिए ।
समितिको तेस्रो बैठक जापानमा आयोजना गरिनेछ ।