काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउनेसहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा बनेको छानबिन समितिले केही दिन अघि मात्र मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएका थिए ।
सचिव न्यौपानेले बुझाएको प्रतिवेदन मन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा लगेका थिए । यसअघि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनी पुनः निगमका कार्यकारी अध्यक्ष भएका थिए ।
प्रतिवेदनमा निगमका कार्यकारी अध्यक्ष अधिकारी मुख्य दोषी देखिएको र उनलाई पदमा राखिराख्न उपयुक्त नभएको सुझावसहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गरिएको थियो ।
मन्त्रिपरिषदले गत असार ६ गते कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउँदै मन्त्रालयका सचिव न्यौपानेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
पर्यटनसचिव न्यौपाने संयोजक रहेको छानबिन समितिले कार्यकारी अध्यक्ष अधिकारीले निगम सञ्चालन गर्न नसक्ने, विभिन्न समयमा विवादमा परेकोले उनलाई सो पदमा राखिराख्न उपयुक्त नहुने निश्कर्षसहितको प्रतिवेदन पेस गरेको छ ।
निगमका अध्यक्ष अधिकारीलाई हटाउनका लागि पर्यटन मन्त्री श्रेष्ठसमेत तयार थिए । कार्यकारी अध्यक्षमा अधिकारीलाई नै राखेर निगम अगाडि बढाउन सक्ने स्थिति नभएको निष्कर्षमा मन्त्री श्रेष्ठ पनि पुगेपछि उनको बर्खास्ती संभव भएको हो ।
पूर्वपर्यटन मन्त्री प्रेम आलेले २०७८ कात्तिक ११ गते अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरे पनि उनैले गत असार ६ गते निलम्बन गरेका थिए । निगमलाई गति दिन नसकेको र पटक-पटक विवादमा परेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति बनाएको थियो ।
त्यसलगत्तै सर्वोच्च अदालतमा गएका अध्यक्ष अधिकारी भने असार २३ गते अल्पकालीन अन्तरिम आदेश लिएर काममा फर्किएका हुन्।