काठमाडाैं । नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवर्द्धन सुरु गरेका छन्। विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने कोदोको हाल खेती हुन छाडेपछि राष्ट्रिय कृषक समूह महासंघको पहलमा यसको प्रवर्द्धन सुरु गरिएको हो।
कोदोको उपयोगिता तथा पौष्टिक महत्व बुझेपछि जिल्लाका किसानले यसको खेती सुरु गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानका अनुसार मकवानपुर विगतमा अत्याधिक मात्रमा कोदो उत्पादन हुने जिल्ला हो। फेरि पनि कोदोको उत्पादन बढाउनुपर्ने उनको भनाइ छ। ‘विदेशबाट कोदो आयात हुने क्रमलाई रोक्न सक्नुपर्छ,’ उनले भने ‘कोदोका विभिन्न परिकार तथा मदिरासमेत उत्पादन गरेर ब्राण्डिङ गर्नुपर्छ ।’
हाल जिल्लाका किसानहरु स्वतः कोदो प्रवर्द्धनमा लागेका छन्। पदमपोखरी, भीमफेदी तथा हटिया हर्नामाडी, हाँडीखोलालगायतका क्षेत्रका किसानले कोदो रोप्न सुरु गरेका छन्। कोदोको प्रवद्रधन गरेर यसका परिकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने राष्ट्रिय किसान आयोगकी सदस्य तथा प्रवक्ता जीवन्ती पौडेलको भनाइ छ। कोदो आयात गर्नुपर्ने अवस्था आउनु कृषिप्रधान मुलुकका लागि दुर्भाग्यपूर्ण रहेकाले त्यो अवस्थाको अन्त्य गर्न आफू कोदो रोप्न अग्रसर भएको उनले बताए । विदेशी मदिरालाई हतोत्साही गर्न कोदोको मदिरालाई वैधानिक तरिकाले उत्पादन गर्नुपर्ने उनको सुझाव छ ।
राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझा रैथाने बालीको संरक्षणमा राज्यले विशेष भूमिका खेल्नुपर्ने बताउँछन्। रैथानेबालीले यहाँको जनजीविकासँग विशेष महत्व राख्ने उनको भनाइ छ। कोदो देशका अल्पसङ्ख्यक तथा सीमान्तकृत जाति, समुदायको जीवनपद्धतिसँग जोडिएको अन्न भएकाले पनि यसको संरक्षण गर्दै उत्पादन बढाउनुपर्ने उनले बताए ।
जिल्लाको पदमपोखरी, हटिया, हर्नामाडी, गढी, राईगाउँ, फापरबारी, भीमफेदी, पालुङजस्ता स्थानमा हजारौं मुरी कोदो उत्पादन भएर निर्यात समेत हुने गथ्यो । अन्य नगदेबाली लगाउन थालेपछि कोदो खेती लगभग लोप हुने अवस्थामा पुगेको छ । नेपालमा लोप हुने अवस्था आए पनि विदेशबाट भने प्रशस्त मात्रामा आयात हुन थालेपछि नेपालमै उत्पादन बढाउने उद्देश्यले कोदोको खेती सुरु गरिएको भीमफेदीका किसान दीपक पुडासैनीले बताए। अहिले कोदो खेतीको पुनः सुरु गरेको बताउँदै उनले आगामी दिनमा यसलाई वृद्धि गर्दै जाने लक्ष्य लिएको बताए ।
जिसस प्रमुख घलानकाअनुसार पदमपोखरी क्षेत्रमा कोदो, मकै र भटमास अत्यधिक मात्रामा उत्पादन हुने गथ्यो। समथल तर सिँचाइ सुविधा नहुनाले यहाँका किसानको पहिलो रोजाइ कोदो हुने गरेकामा विस्तारै खानेपानीको धारालाई नै प्रयोग गरेर किसानले वैकल्पिक खेती सुरु गर्न थालेपछि किसानले कोदो लगाउन छाडेका थिए। अब कोदोले राम्रो मूल्य पाउने अवस्था बनेकाले विस्तारै किसान आफैंले कोदो लगाउन सुरु गर्ने उनले बताए ।
राष्ट्रिय कृषक समूह महासंघकाअनुसार कोदो नेपालको धान, मकै र गहुँपछि चौथो महत्वपूर्ण अन्नबाली हो । यसलाई नेपालको पहाडी भेगमा मकैपछिको दोस्रो बालीको रूपमा लिइन्छ । यसलाई कम उर्वर क्षमता भएको रुखो तथा पाखोबारीमासमेत खेती गरेर उत्पादन लिन सकिने बालीको रुपमा लिइन्छ ।
कोदोबारे जानकार उद्धव अधिकारीकाअनुसार यस बालीमा रोग तथा कीराको प्रकोप कम हुन्छ। जलवायु अनुकूलनीय र वातावरणमैत्री अन्नबालीको रुपमा पनि यसलाई लिने गरिन्छ । उनकाअनुसार कोदोको बिउलाई १५ वर्षसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ। कोदो समुद्री सतहदेखि ३०० मिटरको उचाइदेखि ३ हजार मिटरसम्मको उचाइमा यसको खेती हुन्छ।
नेपालमा मनाङ र मुस्ताङ बाहेक सबै जिल्लामा कोदोको खेती हुने राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेत बताउँछन्। राष्ट्रिय कृषक समूहकाअनुसार ७० भन्दा बढी देशको समर्थनमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।
कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली रहेको कोदोका जानकार बताउँछन्। रेसा, क्याल्सियम, फसफोरस, फलाम, लवण, अमिनोएसिडलगायत शरीरलाई अत्यावश्यक पर्ने पौष्टिकताले भरिपूर्ण कोदोको सेवनले रगतमा बोसो र कोलेस्टोरोल घटाउने तथा चिसो लाग्नबाट जोगाउने राष्ट्रिय कृषक समूहका पूर्वअध्यक्ष समेत रहनुभएका उद्धव अधिकारी बताउँछन्।
उनकाअनुसार कोदोलाई 'हिमालयन सुपर फुड' को रूपमा लिइन्छ । उनले भात मात्रै खाने संस्कृतिलाई न्यूनीकरण गरी खाद्य विविधता र पोषण सुरक्षामा नयाँ आयाम सुरुआत गर्न कोदोको प्रवद्रधन आवश्यक रहेको बताए । राष्ट्रिय कृषक समूहका अध्यक्ष नवराज बस्नेतले अहिलेको सुअन्न भनेर चिनिने खाद्यान्नभन्दा अब्बल गुण कोदोमा हुने बताए ।
जिल्लामा दोस्रो कोदो दिवसको अवसर पारेर साउन १५ गते कोदोको महत्व र उपयोगिताका बारेमा राष्ट्रियस्तरको कार्यक्रम समेत आयोजना गरिएको थियो । राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, कृषि पत्रकारहरुको संस्था अनाज नेपालको संयुक्त पहलमा कोदो दिवस मनाउन सुरु गरिएको हो ।