बागलुङ । दैनिकजसो हजारौं युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । तीमध्ये धेरैजसो युवाहरुको एउटै भनाइ हुन्छ– देशमा केही गर्ने वातावरण छैन ।
देशमा केही गर्ने वातावरण छैन, गर्न सक्ने अवस्था छैन वा गर्न सकिँदैन यी फरक कुरा हुन् । तर, पछिल्लो समय देशमै, अझ भनौं गाउँमै तरकारी खेती गरेर गतिलो उदाहरण बनेका व्यक्ति हुन्, बागलुङ नगरपालिका–१३ पैयुँपाटाका किशोर पाठक ।
त्यसो त किशोर वैदेशिक रोजगारीमा नगएका भने होइनन् । दुबई, साउदी अरब, मलेसियालगायत मुलुकमा १६ वर्षभन्दा बढी समय बिताए । हिजोआज भने उनी गाउँमै व्यावसायिक तरकारी खेतीमा रमाइरहेका छन् । तरकारीमा पनि उनले विशेष गरी टमाटरलाई जोड दिएका छन् ।
लामो समय विदेश बसेर आएका किशोर फेरि किन अर्को मुलुक गएनन् ? र, कृषिकर्मतिर आकर्षित भए ?
‘सबै कुराको ट्रेन्ड हुन्छ,’ किशोर बेलिविस्तार लगाउँछन्, ‘जति बेला म विदेश गएँ, माहोल नै त्यस्तै थियो । केही अपवादलाई छोड्ने हो भने विदेशमा दुःख गर्दा दुई–चार पैसा कमाउन सक्ने अवस्था पनि थियो । हामीजस्ता मध्यम वर्गको पहुँच त्यही दुबई, कतार, मलेसिया थियो । अहिले एकातिर युद्धको लहर चलिरहेको छ, अर्कोतिर महँगी । हिजोको तुलनामा महँगी अचाक्ली बढ्यो तर सोहीअनुसार तलब बढेन । यी कारणले पनि विदेश जान उचित देखिनँ । ‘केही न केही’ गरौं भन्ने सोच बनाउँदा यतातिर लागियो ।
तालिमले दिएको आँट
उनको ‘केही गर्ने आँट’ त्यसै भने आएको होइन । एकपटक गाउँकै त्रिभुवन उच्च माविमा दुई महिने बेमौसमी तरकारी खेतीको तालिम आयो । उनी घरमै भएको मौका थियो त्यो । आफू घरमा पनि र खाली पनि भएकाले तालिममा सहभागी भए । कम्तीमा केही नयाँ चिज सिकिन्छ भन्ने उनलाई लागेछ ।
‘सके आफ्नै केही गरौंला । सकिएन भने पनि केही गर्न खोज्नेलाई सुझाव–सल्लाह दिऊँला भन्ने लागेर तालिम जोइन गरेँ,’ उनले सुनाए ।
तालिम सकियो, राम्रै भयो । तर, तालिममा सिकेको ज्ञान कहाँ कसरी प्रयोग गर्ने ? यसबारे सोच्न थाले । यसबीचमा दैनिक पत्रिका, सामाजिक सञ्जालहरु हेरेँ, अध्ययन गरे । अहिलेको आवश्यकता र ट्रेन्ड के हो भनेर खोज्दै जाँदा आफूले तालिम लिएकै विषय कृषिखेती भएको पाए । त्यसपछि त के चाहियो र ! उनै यतैतिर लागे । नाम दिए, पैयुँपाटा नमुना बहुद्देश्यीय कृषि तथा पशुपन्छी फर्म ।
गाउँमा तरकारी खेतीको चुनौती
गाउँमा प्रत्येक घरजसो तरकारी खेती हुन्छ । आफ्ना लागि खान पुग्ने सागसब्जी घरमै उत्पादन गर्छन् । खेती नहुनेले पनि अर्काको जग्गा कमाएर गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गाउँमै कृषिखेती थाल्नु जोखिम थियो । किशोर भन्छन्, ‘जोखिमसँगै आशा पनि प्रशस्तै थियो । किनभने, घरमा खानका लागि उत्पादन गर्ने कृषिको प्रविधि र मैले फर्ममा अवलम्बन गर्ने प्रविधि फरक छ ।
मानौं, आफ्ना लागि तरकारी उत्पादन गर्ने कृषकले विभिन्न रासायनिक मल, कीटनाशक औषधि प्रयोग गर्नुहुन्छ । त्यसमा मात्रा पनि नमिल्न सक्छ, दिन र समय नमिल्न सक्छ । तर, मेरोमा त्यस्तो हुँदैन ।
हामी सबै कुरा जैविक नै उत्पादन गर्छौं । वेस्ट डी कम्पोजर प्रयोग गर्छौं । मात्रा र समयको ख्याल गर्छौं । यसले गर्दा पनि हाम्रो उत्पादनको गुणस्तर बढी हुन्छ ।’ ‘हामी यहाँ तरकारी उत्पादन गर्छौं । तर, नारायणगढबाट आइदिन्छ,’ उनी भन्छन्, ‘उपभोक्ताले त्यहाँको र यहाँको गुणस्तर एउटै हुँदैन भनेर बुझ्नुपर्छ ।’
दुविधाजन्य स्थानीय बजार
हरेक क्षेत्रमा प्रतिस्पर्धा हुन्छ, हुनु पनि पर्छ । तर, कृषिकर्ममा लागेको किशोरले देखेको प्रतिस्पर्धा केही अनौठो छ । ‘प्रतिस्पर्धा त छ, उल्टो । कृषकहरुबीच नै तँछाडमछाड गर्ने, गिराउने प्रवृत्ति बढी छ,’ उनी गुनासो गर्छन्, ‘राज्यले पनि यस क्षेत्रमा कुनै संकलन केन्द्र राखिदिएको छैन ।
संकलन केन्द्र नहुँदा र उत्पादन आफैंले बजार पठाउँदा व्यापारीअनुसार भाउ तोकिन्छ । यसले हामीजस्ता कृषकलाई पीडा हुन्छ ।’
किशोरले भनेको कुरा गलत होइन । यसमा राज्यले ध्यान दिई उपसंकलन केन्द्र बनाइदिने, तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्ने र बजार व्यवस्थापन गरिदिने हो भने सम्भवतः कुनै पनि कृषक मारमा पर्नुपर्दैन ।
भाउ बिगार्ने नै किसान
मान्छेको शत्रु मान्छे भनेजस्तै भाउ बिगार्ने अरु कोही नभएर किसान नै रहेछन् । ‘मैले ११ वटा टनेल बनाएको छु । अर्को कुनै व्यक्तिले एउटा टनेल बनाएर आफूले खाने तरकारी लगाउँछ । जब त्यो तरकारी खाएर सकिँदैन उसले बेच्न थाल्छ,’ कसरी भाउ बिग्रन्छ भन्नेबारे उनी उदाहरण दिँदै सम्झाएँछन्, ‘खाएर नसकिएको तरकारी बेच्दा उसले बजारमा प्रचलित भाउ खोज्दैन । जतिमा पनि बेच्न तयार हुन्छ । यसो गर्दा उसको पनि बजार बिग्रन्छ र मेरो पनि । अझ त्यसले मजस्ता व्यावसायिक कृषिखेती गर्नेलाई प्रत्यक्ष असर पार्छ ।’
उद्देश्य
कुनै न कुनै काम गर्दा त्यसको पछाडि उद्देश्य अवश्य हुन्छ । यस्तै उद्देश्य छ किशोरको पनि । ‘मेरो उद्देश्य भनेको जैविक कृषिमार्फत बलेवा क्षेत्रमा तरकारीको पकेट क्षेत्र बनाउने हो,’ उनी प्रस्ट्याउँछन्, ‘कुनै बेला बागलुङ झोलुंगे पुल, नेपालजस्तो नक्साका लागि चिनिन्थ्यो भने अब तरकारी खेतीका लागि चिनाउन सकियोस् भन्ने हो ।’
आफूलाई एउटा पात्र मात्रै बताउँछन् । आफूबाहेक पनि अन्य साथीहरु पनि देश–विदेश गएर, अनुभव बटुलेर आएका छन् । उनीहरुले पनि विभिन्न क्षेत्रमा व्यावसायिक कृषि गर्दै आइरहेका रहेछन् । भोलिका दिनमा आफूले गरिरहेको कृषिखेतीबाट पनि केही युवा साथीले सिकेर नयाँ थालनी गरे भने त्यो पनि उनको उद्देश्यमा सहयोग पुग्ने एउटा इँटा बन्नेछ ।
राज्यको बेवास्ता
किशोरका अनुसार राज्यले कृषिकर्म गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । मुलुक पनि अझैसम्म कृषिप्रधान भनेरै चिनिएको छ । सीमित मान्छेले गरेको कृषिकर्मले असीमित मान्छेहरुको पालनपोषण भइरहेको छ । ‘मानौं, टमाटर धेरै भयो र बिक्री भएन रे ! त्यसलाई खेर जान नदिन एउटा सस फ्याक्ट्री हुनुपर्र्छ । यसो भयो भने बजारमा नजाने टमाटरको सस बनाएर अर्कै तरिकाबाट प्रयोग गर्न सकिन्छ,’ उनीसँग सम्भावना र उपाय पनि छ ।
यस्तै गाउँमा फलेको उत्पादन गाउँमै खपत गर्ने मानसिकता बस्नुपर्छ । यो चेतना दिने भनेको वडा सञ्जालसहित राज्यले हो । तर, यतातिर राज्यले खासै ध्यान नदिएकोप्रति उनको गुनासोबाहेक केही छैन ।
स्वास्थ्य सरोकार
आफ्नो फर्ममा वेस्ट डी कम्पोजर प्रयोग गर्दै आइरहेका छन् किशोर । भारतको गाजियवादस्थित राष्ट्रिय कृषि अनुसन्धान केन्द्रका एक कृषिविज्ञको टिमले प्रतिपादन गरेको प्रविधि रहेछ वेस्ट डी कम्पोजर । उनका अनुसार यसबाट हरेक चिज बनाउन सकिन्छ । यसमा चाहिने भनेको दालबाली र भेलि मिश्रण गरेर लिक्विडिटी फर्ममा ल्याएर बिरुवालाई दिइन्छ । गाउँघरकै झारपात प्रयोग गरी कीटनाशक विष पनि यसबाटै बनाउन सकिन्छ । जसले गर्दा स्वास्थ्यमा युरिया, डीएपीजस्ता रासायनिक मलले गर्नेजस्तो असर गर्दैन ।
आम्दानी र रोजगारी
किशोरले टमाटर खेती गरेको धेरै भने भएको छैन । गत फागुनदेखि मात्रै सुरु गरेका हुन् । सिक्ने प्रक्रियामै रहेका उनले यो असारमा पहिलो छिमल टमाटर टिपेको बताउँछन् ।
चार हलको मेलोमा एघारवटा टनेलमा तरकारी लगाएका उनले हाल तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । दैनिक पाँचदेखि ७ क्यारेटसम्म टमाटर टिप्ने उनको मासिक आम्दानी डेढ लाखसम्म छ । यसका लागि उनले करिब १४ लाख रुपैयाँ मात्रै लगानी गरेको बताउँछन् ।