काठमाडौं । राष्ट्रिय बिमा कम्पनीलाई समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बिमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा बोल्दै सरोकारवालाहरुले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिस्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरी पुष्करले कम्पनीले पूर्ण प्रतिबद्धताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफ्ना ग्राहक तथा सरोकारवालाहरुको अपेक्षा पूरा गर्दै अगाडि बढ्न आग्रह गरे ।
सरकारी स्वामित्वको एकमात्र निर्जीवन बिमा कम्पनीका रुपमा कम्पनीले आफ्नो विगतको कार्य प्रगतिको समीक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न उनले आग्रहसमेत गरेका छन् । साथै समयमै आफनो वित्तीय विवरणको प्रकाशन गरेर वित्तीय पारदर्शिता, बिमाको व्यावसायिकता, संस्थाका मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि सचिव पुस्करले आग्रह गरेका छन् ।
त्यस्तै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीले आफ्नो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु¥याई बिमाको पहुँच र दायरा वृद्धि गर्न बिमा बजारका नवीनतम अवसरलाई आत्मसात गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बिमा सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उनले तोकेको समयसीमा भित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि अध्यक्ष सिलवाले बताए ।
नेपाल सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकाले राष्ट्रिय बिमा कम्पनीले अभिकर्ताको कमिशन कम गरिदिएको र बीमक संघ तथा सर्भेयर एसोसिएसनको बीचमा बसेर निर्धारण गरिएको फि कम गरेको बताएका छन् । कम्पनीसँग सर्भेयर एसोसिएसनले सहकार्य गरेर अगाडि बढ्न खोजेकाले भन्दै अहिले भएका अवरोध हटाइदिनसमेत उनले आग्रह गरेका छन् ।
कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन भएका बिमा कार्यक्रमका साथै कर्पोरेट क्षेत्रका व्यावसायिक जोखिम तथा परम्परागत बिमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बिमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीव्र गतिमा हुन थालेको बताए ।
नियामक निकायबाट हालसम्म (आव २०६८/६९ देखि आव २०७२÷७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारणसभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानउँदै उनले पछिल्ला आर्थिक वर्षहरुका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको बताएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बिमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथी तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बिमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रुपमा मुख्यतयः कम्पनीको सेयर नबिल बैंकमा १ करोड ७४ लाख १५ हजार १७९ कित्ता, नेपाल इनभेष्टमेन्ट बैंकमा एक करोड ७३ लाख १६ हजार ७४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार ५ सय ४९ कित्ता सेयर रहेको जनाएका छन् ।
नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्युब आयलमा पनि कम्पनीको लगानी रहेको छ । साथै कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब ५० अर्ब रुपियाँ लगानी रहेको छ ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरुको पनि बिमा गरेको बताएका छन् । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्टिय गौरवको काठमाडौं तराई मधेस फास्ट ट्र्याक द्रुत्त मार्ग आयोजना, अपर तामाकोशी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट्र बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरुको दुर्घटना बिमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरुको पनि दुर्घटना बिमा गरेको बताइएको छ ।
कम्पनीमा अहिले नेपाल सरकारको ४७.५ प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैंक लिमिटेडको १०.९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९.५४ प्रतिशत रहेको भने आर्थिक वर्ष २०७८/७९ मा २६४.७१ करोेड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
सो अवसरमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण सिवाकोटी, कान्ता शाह, सदिक्षा न्यौपाने, उत्तर बहादुर ऐर, नारायण गिरी, केशवदत्त जोशीलगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखाहरु जनकपुर, भक्तपुर र पाल्पा शाखालाई सम्मान गरिएको थियो ।