काठमाडौं । सरकारले भारतबाट गहुँ र चिनी आयातका लागि स्वीकृति लिन बोलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न चाहाने उद्योगी व्यवसायीलाई स्वीकृतिका लागि निवेदन दिन भनेको छ ।
मन्त्रालयले गहुँ र चिनी आयात गर्ने उद्योगी व्यवसायीलाई साउन २८ गतेभित्र निवेदन दिने समय दिएको छ । भारतले छिमेकी मुलुकलाई आवश्यकता परे परिमाण तोकेर दिन सकिने तर सम्बन्धित सरकारको स्वीकृति चाहिने भनेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात गर्न चाहाने व्यवसायीलाई स्वीकृति दिन लागेको हो ।
गहुँ र चिनी आयात गर्ने व्यवसायीले प्रयोजन खुलाउनु पर्ने भएको छ । भारतबाट मैदा तथा आँटा उत्पादनका लागि कच्चा वस्तु गहुँ, विस्कुट र चकलेटलगायत अन्य मिठाइजन्य वस्तु उत्पादन गर्न आवश्यक चिनी आयात बन्द भएपछि उद्योग समस्यामा पर्न थालेका छन् ।
रुस–युक्रेन युद्धले खाद्य सुरक्षाको कारण देखाउँदै छिमेकी भारतले अहिले गहुँको निर्यात बन्द गरेको छ । त्यसको असर नेपालका मैदा मिलहरुलाई परेको छ । भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विभिन्न भन्सार नाकाहरुबाट आयात बन्द भएको छ ।
यस्तै चिनीको आयात पनि बन्द भएको छ । गहुँको सट्टा अहिले मैदा र आटाको आयात शुरू भएको उद्योगीहरुले बताएका छन् । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउनुअघि तयारी आटा र मैदा आयात बन्द थियो ।
भारतले वैशाख अन्तिम सातातिर गहुँ उत्पादन लक्ष्यभन्दा कम भएको भन्दै निकासीमा प्रतिबन्ध लगाएको हो । नेपालले आवश्यक पर्ने ९० प्रतिशतभन्दा धेरै गहुँ आयात भारतबाट गर्छ ।
यद्यपि भारतले फिजीमा गहुँ निर्यात गरिरहेको उद्योगीको भनाइ छ । नेपालमा गहुँ उत्पादन धेरै कम भएकाले उद्योगहरुले भारतबाट आयात गरेर मैदा र आँटा उत्पादन गर्दै आएका छन् । आयात बन्द भएपछि नेपालमा रहेका ३ दर्जन मैदा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि नेपालका बिस्कुट र चाउचाउलगायत अन्य उद्योगहरुले गहुँको पिठो नै मगाउन थालेका हुन । असारमा जेठको भन्दा बढी गहुँको पिठो भित्रिएको भन्सार विभागको तथ्याँक छ ।
नेपालका ३६ मैदा मिलले वार्षिक साढे ६ लाख ५० हजार टन मैदा र आँटा उत्पादन गर्दै आएका छन् । सरकारले भारतसँग कुरा गरेर गहुँ आयात सहज नगराउँदा नेपालमा ठूलो अभाव सृजना भएको उद्योगहरुले बताउँदै आएका छन् । केही वर्षअघि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकी देशहरुलाई कोटा प्रणाली लागू गरेको थियो ।
भारत सरकारले वैशाख ३० गते भारत सरकारले गहुँको निर्यात बन्द गरेको सूचना सार्वजनिक गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले यही साउन १ गते सरकारले गहुँ आयातका लागि भारतसँग पत्राचार गरेको जानकारी दिएका थिए ।
भारतका वाणिज्यमन्त्री पीयूष गोयलले आफ्नो देश गहुँको मुख्य निर्यातकर्ता नभएकाले प्रतिबन्धले असर नपार्ने बताउँदै आएका छन् । अस्वाभाविक रूपमा बढेको गर्मीले यसपालि गहुँबालीमा असर पारेपछि स्थानीय रूपमा मूल्य निकै बढेको छ ।
प्रतिबन्ध घोषणा गर्नुभन्दा केही दिनअघि भारतले अहिलेसम्मकै उच्च १ करोड टन गहुँ निर्यात गर्न लक्ष्य राखेको थियो । यद्यपि गत वर्ष उसले २० लाख टन मात्र निर्यात गरेको थियो । उसले एसिया र अफ्रिकाका नयाँ बजारहरूमा निर्यात बढाउने प्रस्ताव गरेको थियो ।