काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले विदेशी एयरलाइन्सले रोयल्टी नतिरे नेपालमा भएका जनरल सेल्स एजेन्ट (जीएसए) बाट उठाउने भएको छ ।
रोयल्टी वक्यौता नतिरी उडान बन्द गर्ने विदेशी एयरलाइन्सको संख्या बढ्दै गएपछि प्राधिकरणले जीएसएबाट असुल गर्ने नीति लिएको हो । विदेशी एयरलाइन्सहरुले करोडौं रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ ।
यसका लागि जीएसएका सञ्चालकहरुले तीनपुस्ते विवरण प्राधिकरणमा बुझाउनु पर्ने भएको छ । विदेशी एयरलाइन्सले नेपालमा उडान गरेर रोयल्टी नतिरी सम्पर्कविहीन हुने समस्यालाई अन्त्य गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अबदेखि तीनपुस्ते विवरण बुझाउनु पर्ने प्रावधान ल्याएको हो ।
विदेशी एयरलाइन्सहरुले नेपालमा उडान गर्न नेपालमै जीएसए नियुक्त गर्ने गरेका छन्। ती एयरलाइन्सहरुको जीएसए लिन व्यवसायीहरुबीच हानाथाप हुने गरेको छ। तर, कुनै कारणले ती एयरलाइन्सले उडान बन्द गरेमा त्यसले बुझाउनु पर्ने बक्यौता रकमहरु नतिरी सम्पर्कविहीन हुने घटना बढेसँगै प्राधिकरणले नेपालका प्रतिनिधिहरुको तीनपुस्ते विवरण उल्लेख गरेर राख्ने प्रावधान ल्याएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए ।
विदेशी कम्पनीले नेपाल छोडेर गए पनि जीएसए लिने व्यक्ति वा कम्पनीका व्यक्ति र त्यसले पनि नभए उनका परिवारका तीन पुस्तेबाट असुलउपर गर्न सहज होस भन्ने उद्देश्यले नयाँ प्रावधान ल्याएको महानिर्देशक अधिकारीको भनाइ छ। यसअघि प्राधिकरणले बक्यौता रकम लामो समयसम्म तिर्न नसक्ने एयरलाइन्सलाई नेपाल उडानमै प्रतिबन्ध लगाउने गरेको थियो ।
तर, महानिर्देशक अधिकारीले भने त्यस्ता एयरलाइन्सहरुको उडान रोक्नुभन्दा नेपालमा जिम्मा लिएका एजेन्टबाटै असुलउपर गर्नका लागि सहज होस् भन्ने उद्देश्यले तीनपुस्ते विवरणको नीति ल्याएका हुन्। ‘विदेशी एयरलाइन्सलाई उडान रोक्नुभन्दा यहाँ भएका एजेन्टलाई जिम्मेवार बनाउनु हाम्रो दायित्व हो,’ महानिर्देशक अधिकारीले भने, ‘उडान रोक्ने हैन, धेरैभन्दा धेरै एयरलाइन्सलाई नेपालमा ल्याउन प्रोत्साहन गर्नपर्छ र गर्छु । ’
उडान रोकेर मात्र समस्या समाधान नहुने प्राधिकरणको तर्क छ। एक विदेशी एयरलाइन्स उडानबाट मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १० लाख रुपैयाँ आम्दानी हुन्छ। त्यसैले कुनै पनि एयरलाइन्सलाई नेपालमा उडान रोक्नेभन्दा पनि धेरैभन्दा धेरै एयरलाइन्सलाई नेपालमा आउने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ । विदेशी एयरलाइन्सको नेपालमा उडानले प्राधिकरणलाई मात्र हैन सबै क्षेत्रमा आम्दानी बढ्ने अधिकारीको दाबी छ ।
एयर एसियालाई ताकेता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १८ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको एयर एसियालाई फेरि नेपाल उडानका लागि अनुमति दिन थालिएको छ । उसले अहिले पनि थाई एयर एसियाको नाममा फेरि उडान गर्ने तयारी गरिरहेको छ ।
यस विषयमा प्राधिकरणका महानिर्देशक अधिकारीले बक्यौता रकम नतिरेकै आधारमा उडान रोक्न उचित नहुने निष्कर्षमा आफूहरु पुगेको प्रतिक्रिया दिए । 'उसले अनुमति मागे दिनका लागि तयार रहेको बताउँदै उडान गर्न दिए पो बक्यौता उठाउन पनि सहज हुन्छ,' उनले क्यापिटल नेपालसँग भने । एयर एसिया जस्तै अन्य एयरलाइन्सले पनि बक्यौता रकम तिर्न नसकेर बेपत्ता नहोस् भन्ने उद्देश्यकै साथ एजेन्टको तीन पुस्ते विवरण राख्न लागिएको बताए ।
नेकोन एयरका सञ्चालकको खाता रोक्का
प्राधिकरणले लामो समयदेखि बक्यौता नतिर्ने नेकोन एयर लिमिटेडका सञ्चालकहरुको खाता रोक्का गरेको छ । महानिर्देशक अधिकारीकाअनुसार प्राधिकरणलाई तिर्न बाँकी सेवा शुल्क ४ करोड ७२ लाख रुपैयाँ रहेको र सो रकम नतिरेसम्म खाता रोक्का गरिने जानकारी दिए ।
महानिर्देशक अधिकारीले नेकोनलाई ताकेता गरिरहेको बताउँदै अझै पनि सो रकम नतिरे सञ्चालकको पासपोर्टसमेत जफत गर्ने प्रक्रिया अगाडि बढाउने तयारीमा लागेको बताए ।
नेकोनको सञ्चालकमा अध्यक्ष तथा प्रबन्ध सञ्चालक दीपमणि राजभण्डारी, सञ्चालकमा दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ रहेकोे छन् । २०४८ सालबाट आन्तरिक उडान सेवा थालेको नेकोन एयर १३ वर्षपछि बन्द भयो ।