काठमाडौं । हिमालय एयरलाइन्सले सामाजिक उतरदायित्व(सीएसआर) अन्तर्गत कोभिडको बेला निःशुल्क खोप ल्याउनेदेखि स्वास्थ्य सामग्रीको कार्गो ढुवानीमा अग्रस्थानमा रहेर सरकारलाई सहयोग गरेको छ ।
एयरलाइन्सले कोभिडकाल (विगत दुई वर्षदेखि)सीएसआरअन्तर्गत गरेका कामको विवरणहरु सार्वजनिक गर्दै निःशुल्क खोप ल्याउनदेखि स्वास्थ्य सामग्री ल्याउनका लागि सरकारलाई सहयोग गरेको उल्लेख गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यहरूमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पुर्याउने खालका कार्यहरू जारी राखेको जनाएको छ ।
हिमालय एयरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले कोरोना संक्रमणको महामारीले विश्वजगतनै समस्यामा परेको बेलामा पनि आफ्नो सेवालाई निरन्तरता दिएएको जानकारी दिइन् । व्यावसायिक रूपमा नाफाघाटालाई मध्यनजर नगरी विश्वमा परेको समस्यालाई आफ्नो तर्फबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ सेवालाई निरन्तरता दिएको बताइन् । कोभिडले व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकाले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण बनेको उनले बताइन् ।
एयरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कोभिडको बेला संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महत्वपूर्ण भएको महसुस गरे । हिमालयले अग्रगामी रुपमा सरकारको कोभिड–१९ कोषमा १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्यमा कम्पनीका संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरू सन् २०२१ मा थप केन्द्रित भएर काम गरेको बताए ।
सरकारसँग सहकार्य गर्दै दृढताका साथ र संकटको घडीमा भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको उल्लेख गरेको छ । एयरलाइन्सले विगत ५ वर्षदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ब्यानरअन्तर्गत एक गैरसरकारी संस्था “प्रयास नेपाल”लाई पनि साथ दिँदै आएको जनाएको र
बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो “शिक्षातर्फका पाइलाहरू” कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदनले हिमालय एयरलाइन्सको कार्यसम्पादन र कम्पनीको सामाजिक उत्तरदायित्वलाई उजागर गर्दै यसका पाँच प्रमुख क्षेत्रहरू आर्थिक समृद्धि, वातावरणीय दिगोपन, सामाजिक उत्तरदायित्व, सञ्चालनका पक्षहरू र गुणस्तर व्यवस्थापन प्रणालीमा योगदान रहेको जनाएको छ ।
हिमालयले हाल ४ वटा जहाजहरुमार्फत मध्यपूर्व र दक्षिण एसियाका प्रमुख देशहरू यूएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बंगलादेशलगायतका देशहरुमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ भने कार्गो उडानहरू विशेष रूपमा चीनबाट र चीनसम्म सञ्चालन गरिरहेको छ।