काठमाडौं । प्रभु बैंक र गैरआवासीय नेपाली संघबीच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् ।
सो सम्झौताअनुसार ‘मातृभूमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ भन्ने मूल नाराका साथ प्रभु बैंक र गैरआवासीय नेपाली संघको सहकार्यमा गैरआवासीय नेपाली तथा गैरआवासीय नेपाली संघका सदस्यहरूले विदेशका जुनसुकै देशहरूबाट पनि विदेशी मुद्रामा बचत खाता र मुद्दती खाता खोल्न तथा सञ्चालन गर्न सकिनेछ ।
यस प्रकारका खाताहरू अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्यूनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने बताए ।
यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको नीति, नियम तथा निर्देशनको अधिनमा रही विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ यस्ता खातामा नगद रकम जम्मा गर्न पाइने छैन, जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानुपरेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाइनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै गैरआवासीय नेपाली सं्घका अध्यक्ष विनोद कुँवरले, गैरआवासीय नेपालीको तर्फबाट विदेशमा सिकेको सीप, ज्ञान र दक्षतालाई कुनै न कुनै रूपमा नेपाल र नेपालीहरूको हितमा प्रयोग गरिरहेको बताए । साथै बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गैरआवासीय नेपालीहरू तथा विदेशमा काम गरिरहेका नेपाली नागरिकहरूलाई बैंकबाट उपलब्ध गराउने सम्पूर्ण सेवाहरू उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरे ।