तनहुँ । पर्यटकीय नगर बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आउँदो वैशाखदेखि सञ्चालनमा आउने भएको छ । केबलकारसञ्चालनसँगै सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) एकैसाथ निष्कासन गर्ने भएको छ । आईपीओ बन्दिपुर केबलकारले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडसँग निष्कासन सम्झौता गरेको छ ।
सेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबलकारमा १ हजार ४ सय जनालाई सेयर वितरण गरेको छ ।
समयअनुरुप पर्यटकहरुलाई नयाँपन दिन केबुलकारभित्र रेष्टुराँ सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए ।
सो समयपश्चात् इच्छुक पर्यटकहरुले केबलकार रिजर्भ गरी केबलकार भित्रको रेष्टुराँमा मनोरञ्जन लिन पाउनेछन् । केबलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ । उनले भने, “रेष्टुराँका लागि २५ हजार रूपैयाँ शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।”
केबुलकार भित्रै शौचालयसहितको सुविधासम्पन्न बनाउनका लागि कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दसैंदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए।
आगामी नयाँ वर्षदेखि केबकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए । केबलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगमा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छसय मिटर दूरीको यात्रा गर्न पाउनेछन् ।
एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजमको लागत १ अर्ब ६६ करोड ८९ लाख रूपैयाँ रहेको बताइएको छ ।
केबुलकार र चारतारे होटल निर्माणसहित कुल ३ अर्ब रुपैयाँ लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए। पहिला गरिएको सामानको अनुमानको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्यवृद्वि भएकाले लागत बढ्ने संकेत देखिएको उनले जानकारी दिए ।
सो परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्नस लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ ।