काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा करिब डेढ दर्जन वाणिज्य बैंकले करिब ४८ अर्ब रुपैयाँ बढी खुद नाफा गरेका छन् ।
एनआईसी एसिया बैंकसहित १७ बैंकले सो नाफा गरेका हुन् । हालसम्म १७ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अन्य ९ वाणिज्य बैंकले भने सार्वजनिक गरेका छैनन् ।
वित्तीय विवरण सार्वजनिक गर्ने १७ वाणिज्य बैंकमध्येमा अधिकांश सूचकमा ग्लोबल आईएमई बैंकले अग्रता कायम गरेको छ । हालसम्म एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, सिटिजन्स बैंक, प्रभु, माछापुच्छ्रे, सनराइज, एनसीसी, लक्ष्मी, ग्लोबल आईएमई बैंक, सानिमा, सिद्धार्थ, कुमारी, नेपाल एसबीआई बैंक, हिमालयन, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
त्यसैगरी, नबिल बैंकसहित ९ वाणिज्य बैंकले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । वित्तीय विवरण सार्वजनिक गर्ने १७ वाणिज्य बैंकमध्ये १५ को खुदनाफा बढेको छ भने सानिमा र हिमालयन बैंकको घटेको छ ।
खुदनाफामा ग्लोबलको अग्रता
वित्तीय रिपोर्ट सार्वजनिक गर्ने १७ बैंकमध्ये ग्लोबल आईएमई बैंकले सर्वाधिक ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसीले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
त्यसैगरी एभरेष्ट बैंकले २ अर्ब ५४ करोड, नेपाल इन्भेस्टमेन्टले ४ अर्ब ८ करोड, एनसीसी २ अर्ब २ करोड, सानिमा २ अर्ब २९ करोड, लक्ष्मी बैंकले १ अर्ब ६० करोड, सनराइज २ अर्ब १५ करोड, प्रभु २ अर्ब ६० करोड, माछापुच्छ्रे २ अर्ब १५ करोड खुद नाफा गरेको छ ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब २६ करोड, सिटिजन्स २ अर्ब २५ करोड, कुमारी २ अर्ब ८३ करोड, सिद्धार्थ ३ अर्ब २१ करोड, नेपाल एसबीआई २ अर्ब २१ करोड, हिमालयन २ अर्ब ४८ करोड र प्राइम कमर्सियल बैंकले ३ अर्ब ६८ करोड नाफा गरेको छ ।