काठमाडौं । सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको बेनी–मालढुङ्गा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पुर्याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिराले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको उनले बताए । 'काभ्रे भीरमा ठूलो सुख्खा पहिरो गएको छ, त्यसलाई पन्छाउन समय लाग्छ, आज दिनभर पहिरो पन्छाउन गरिएको प्रयास सफल हुन सकेन', प्रमुख प्रजापतिले भने । उनकाअनुसार बुधबार वर्षा नभएमा सडक सुचारु गर्न पहल हुनेछ ।
पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब पाँच सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरो खसेको उनले बताए । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम रहेको छ ।
म्याग्दी–काभ्रेभीर सडकको सिमानाको बाँदरजुङ्गे भीर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा परेको छ । काभ्रेभीरमा सुख्खा पहिरो गए पनि कालिगण्डकी नदी थुनिने खतरा भने नभएको उनले बताए । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विष्फोटक पदार्थको प्रयोगका कारण पहिराको जोखिम अत्यधिक रहेको छ ।
बेनी–मालढुङ्गा सडक भने आज दिउँसोदेखि सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुङ्गा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको छ । वर्षा नरोकिएसम्म माथिबाट लेदो खस्ने क्रम नरोकिँदा पहिरो आज दिउँसो मात्रै हटाउन सकिएको हो ।