काठमाडौं । टाटा मोटर्सको गाडी बिक्री ५७ प्रतिशतले बढेको छ । जुलाईमा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु बिक्री भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले गत वर्ष यही महिना ३० हजार १८४ वटा गाडीहरु बिक्री भएको जनाएको छ । एक वर्षमा १७ हजार ३२१ वटा गाडी बिक्री भएको टाटाले जनाएको छ । गत वर्षदेखि उल्लेखनीयरुपमा भारतीय बजारमा बिक्री भइरहेको टाटाको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको थियो ।
नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो । यो सबैभन्दा बढी बिक्री हुने ५ ब्राण्डका गाडीहरुमध्ये एक हो । यस एसयुभीबाहेक पञ्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको कम्पनीले जनाएको छ । परिणामस्वरुप टाटाका गाडीहरुको कुल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ रेकर्ड कायम भइरहेको छ ।
गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको ९कम्प्याक्ट सेडान० बिक्री भएको थियो । यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।
नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी ३ वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ । गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पञ्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्ममा आधारित दोश्रो मोडल हो । गत महिना ११ हजार ७ वटा पञ्च बिक्री भएको थियो । टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिनामा बिक्री संख्या ४ हजार २२ रहेको छ । यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा धेरै हो । आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।