काठमाडौं । पञ्चकन्या ग्रुप अन्तर्गतको पञ्चकन्या स्टिल प्राइभेट लिमिटेडको व्यापार ९८ प्रतिशतले बढेको छ । सन् २०२१ मा उद्योगले स्टिल बेचेर ५ अर्ब ५३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो वर्ष सन् २०२० मा पञ्चकन्याले ३ अर्ब २६ करोड ५० लाख र सन् २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कोरोना महामारीले सन् २०२० मा उद्योगको व्यापार खुम्चिएको थियो । तर, गत वर्षदेखि व्यापार बढ्दो चरणमा छ ।
९ महिनाको अवधिमा पञ्चकन्या स्टिलले ५ अर्ब ३३ करोड २० लाखको व्यापार गरेको छ । उद्योगले सन् २०२१ को बराबर कारोबार ९ महिनामा गरेको छ ।
कच्चा वस्तुको भाउ बढे पनि स्टिलको मूल्य नबढाउँदा उद्योगको मार्जिन अनुपात घटेको छ । कच्चा वस्तुमा भइरहेको मूल्यवृद्धिले उद्योगको नाफामा असर गरेको जनाएको छ । मौद्रिक नीतिले बैंकदरका साथै ब्याजदर बढेकाले स्टिल उत्पादन लागत बढ्ने पञ्चकन्याले जनाएको छ ।
उद्योगले ५ अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । पञ्चकन्याको स्टिल व्यापार राम्रो रहेको छ । उद्योगका देशभरी ९० डिलर रहेका छन् । सोही डिलरमार्फत उद्योगले देशभरी स्टिलको व्यापार गरिरहेको छ ।
सन् १९९५ मा स्थापना भएको पञ्चकन्याले लुम्बिनी प्रदेशको भैरहवामा टीएमटी स्टिल बार उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता बढेर वार्षिक १ लाख ५० हजार रूपैयाँ टन पुगेको छ ।
सन् १९७० मा प्रेमबहादुर श्रेष्ठले स्थापना गरेको पञ्चकन्या ग्रुपले उत्पादनमूलक, ऊर्जा, व्यापार र अटोमोबाइल क्षेत्रमा लगानी विविधिकरण गरेको छ ।
यस्तै ग्रुपअन्तर्गत पञ्चकन्या रोटमोल्ड, पञ्चकन्या प्लास्टिकलगायतका उद्योगका साथै माइ जलविद्युत आयोजना सञ्चालनमा छ । ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र प्रवन्ध सञ्चालकमा प्रदीपकुमार श्रेष्ठ रहेका छन् ।