काठमाडौं । टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्ग अनुदानमा निर्माण गर्न अर्थ मन्त्रालयले चीन सरकारलाई पत्र पठाउने भएको छ । २०७७ मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले उक्त सुरुङमार्गको पूर्व–संभाव्यता (प्रि–फिजिबिलीटी) अध्ययन प्रतिवेदन तयार पारेको थियो ।
त्यसयता चीनले टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गको विषयमा आधिकारिक जानकारी गराएको छैन । कोरोना संक्रमणका कारण नेपालमा चीनका प्राविधिकहरु आउन नसके पनि आयोजनाको विषयमा चासो दिइरहेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव दिलबहादुर क्षेत्री बताउँछन् ।
यद्यपि टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गको काम सुस्त हुने भएपछि अर्थ मन्त्रालयले पत्र पठाएरै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार र निर्माणको कार्यसँगै अगाडि बढाउन आग्रह गर्न लागेको छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने ‘काम सुस्त भएकै हो । हामीले डीपीआर र निर्माण एकैपटक गर्न भनेर अनुरोध पत्र छिट्टै पठाउँछौं। सडक विभागसँग पनि सुरुङमार्गको प्रस्ताव मागिसकेका छौं।’ अर्थ मन्त्रालयले पनि टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ २०७६ असोजको अन्तिम साता भएको नेपाल भ्रमणमा सो सुरुङमार्ग अनुदानमा बनाउने सहमति भएको थियो । सहमति भएको ३ वर्ष बितिसक्दा पनि सुरुङ मार्गको डीपीआरसमेत बनेको छैन । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाकाअनुसार अर्थले विभागसँग प्रपोजलको विषयमा कुरा गरेको छैन । ‘अहिलेसम्म विभागमा कुनै प्रपोजलको विषयमा कुरा आएको छैन, अर्थले भनेको भए यो कुरा भौतिक मन्त्रालयमै होला’ उनले भने ।
चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरेको प्रि–फिजिबिलीटी अध्ययनअनुसार टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङको लम्बाइ ४ किलोमिटर हुनेछ । त्यस्तै सुरुङको भित्र एकातिर ‘सर्भिस ट्रयाक’ रहने बताइएको छ । उक्त सुरुङ मार्ग बनाउन ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यद्यपि डीपीआर तयारपछि मात्र लागत एकिन हुन्छ । सो सुरुङमार्ग चीनले अनुदानमा निर्माण गर्न लागेको हो
सडक विभागमा एक कर्मचारीकाअनुसार ऋण लिएर बनाउने आयोजनामा चीनले धेरै चासो देखाउँदै आएको छ । तर, अनुदान तथा सहयोगमा निर्माण गर्ने भनिएका आयोजनामा काम सुस्त हुने उनको भनाइ छ । ति कर्मचारी भन्छन्, ‘हामीले विभागबाट सिधै पत्र पठाउन पनि मिल्दैन, अनुदानबाट बनाउने भएर होला उसले आफैं पनि खासै चासो देखाउँदैन ।
तर प्रि पिजिबिलीटी आध्ययनको रिपोर्ट तयार गरेको लामो समयसम्म सुरुङको बाँकी अध्ययन र निर्माणको विषयमा चीनले किन चासो देखाएन ? भन्ने प्रश्नमा अर्थ मन्त्रालयका उपसचिव क्षेत्रीले भने, ‘उनीहरुले पनि कसरी डीपीआरको अध्ययन गर्ने, ठेक्का आह्वानको विषयमा पनि छलफल गर्दै होलान् समय लाग्छ । तर, अलि ढिलो हुने भएकाले हामीले पत्र पठाउन लागेका हौं ।’
रसुवागढी सडकको दूरी छोट्याउन सो खण्डमा सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङ निर्माण भएपछि करिब १२ किलोमिटर दूरी घट्ने सडक विभागले जनाएको छ । अहिले रसुवागढी–स्याफ्रुबेसी–धुन्चे पुग्ने गरेकोमा सुरुङमार्फत धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेसी–मैलुङ दोभान हुँदै नुवाकोट सदरमुकाम विदुरसम्म आउन सकिन्छ ।
टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्ग अध्ययनमा कोरोना संक्रमणको कारण देखाएको चीनले नेपाल मै पेट्रोलियम पदार्थको अन्वेषणमा भने सक्रिय भइरहेको छ । कोरोना संक्रमणको समयमा नेपालमा नबसेको चिनियाँ पक्ष संक्रमण कम भएसँगै नेपाल आएर पेट्रोलियम पदार्थ अध्ययनको काम गरेको छ ।