काठमाडौं । बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ बोकेर गौतमश्री सहकारी संस्था लिमिटेडका अध्यक्ष फरार भएपछि सहकारी विभागले बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकमा पत्राचार गरेको छ । काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाका अध्यक्ष रामबहादुर गौतम फरार भएपछि विभागले खाता रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो ।
बचतकर्ताको पैसा फिर्ता नगरी सहकारीका सञ्चालकहरु एकाएक हराएसँगै सहकारीको नाममा उजुरी दर्ता हुन थालेका छन । सहकारीले ठगी गरेको उजुरी बढ्दै जान थालेपछि विभागले सहकारीको सम्पत्ति रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको सरकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।
करिब १२ सय बचतकर्ताले आफ्नो बचत फिर्ता माग्दै विभागमा उजुरी दर्ता गरेको उपाध्यायले जानकारी दिए । बचतकर्ताको उजुरीका आधारमा गौतमश्रीका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनीता सिंहलाई पक्राउ गरेर आफूसमक्ष बुझाउन सहकारी विभागले प्रहरीलाई पत्र पठाएको छ ।
उनका अनुसार कुलेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालय, विभिन्न स्थानमा रहेका सेवा केन्द्र, डिपार्टमेन्ट स्टोर्स तथा गोदाममा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति सहकारी विभागको अनुमतिबिना खोल्न, चलाउन र सरसामान बिक्रीवितरण गर्न नपाउने गरी आवश्यक सुरक्षा प्रबन्ध गर्न तथा सिलबन्दी लाहाछाप गरी त्यसको जानकारी आफूसमक्ष पठाइदिन र सञ्चालक एवं पदाधिकारीहरूलाई उपस्थित गराइदिन प्रहरीलाई गत शुक्रबार नै पत्र पठाइएको उपाध्यायले जानकारी दिए ।
संस्थाका अध्यक्ष गौतम, उपाध्यक्ष निर्मला खत्री, गौतम, सचिव राम गौतम र सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भगवती थापा र सुभाष भुसालको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको छ । सहकारीका सञ्चालक दुई सातादेखि सम्पर्कविहिन भएको बताइएको छ ।
कामको सिलसिलामा संस्थाका अध्यक्ष गौतम केरुङ गएको झण्डै दुई सातादेखि नफर्किएपछि उनकी श्रीमती एवं उक्त संस्थाकी उपाध्यक्ष निर्मला गौतमले आफ्ना श्रीमानको खोजी गर्न प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि अध्यक्ष गौतम हराएको भन्दै एक साताका लागि सहकारी संस्थाको कारोबार बन्द गर्ने भन्दै सूचना प्रकाशित भयो । सहकारी बन्द भएको सूचना आएपछि गएको शुक्रबार एभरेस्ट बैंकले सहकारीको कार्यालयमा सिलबन्दी गरेको थियो । त्यसपछि बचतकर्ताले थाहा पाएका हुन । त्यसपछि उनीहरु विभागमा उजुरी गर्न गएका हुन । अर्बौं रुपैयाँ लिएर सहकारीका अध्यक्ष फरार भएको बचतकर्ताका आरोप छ ।
पीडितका अनुसार करिब ५ हजार बचतकर्ताको करिब ७ अर्ब रुपैयाँ बचत फिर्ता हुन बाँकी छ । नियामक निकाय सहकारी विभागमा। सोमबारसम्म उक्त संस्थाका १ हजार १४५ जना बचतकर्ताले आफ्नो करिब डेढ अर्ब रुपैयाँ बचत फिर्ता माग्दै उजुरी दर्ता गरेको सहकारी विभागका उपरजिस्ट्रार उपाध्यायले बताए ।
कुलेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालय, विभिन्न स्थानमा रहेका सेवा केन्द्र, डिपार्टमेन्ट स्टोर्स तथा गोदाममा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति रहेको छ । सहकारीको बचत रकम घरजग्गामा लगानी गरेपछि सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष केशवलाल श्रेष्ठ र व्यवसायी इच्छाराज तामाङ अहिले जेलमा पुगेका छन् ।