काठमाडौं । रूस–युक्रेन युद्धले आकासिएको कच्चा तेलको भाउ ओरालो लागेको छ । मंगलबार ब्रेन्ट क्रुडमा प्रतिब्यारेल ९९.३० डलरमा कारोबार भएको छ । डब्ल्यूटीआई क्रुड ९३.२१ डलर र मुरवान क्रुड १०० डलरमा कच्चा तेलको कारोबार भएको छ । अघिल्लो सातासम्म १०५ डलरको वरिपरि रहेको कच्चा तेलको भाउ फेरि घट्न थालेको हो ।
रूस–युक्रेन युद्धका कारणमा युरोपमा आपूर्ति बन्द भएपछि केही महिनाअघि कच्चा तेलको भाउ उकालो लागेर प्रतिब्यारेल १४० डलरसम्म पुगेको थियो । असार अन्तिममा कच्चा तेलको भाउ ब्यारेलको १०० डलर तल झरेको थियो ।
त्यसपछि विस्तारै बढेर १०५ डलरको आसपासमा अडिएको थियो । रसियाबाट कच्चा तेलको आपूर्ति बढ्न थालेपछि विश्व बजारमा मूल्यमा कमी आएको बताइएको छ । १ लाख ६५ हजार टन रूसी इन्धन बोकेका ट्याङ्करहरू मध्यपूर्व र सिंगापुरतिर अघि बढेको बताइएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सार्वजनिक गरेको जुलाईको आफ्नो मासिक प्रतिवेदनमा गएको जुनमा रूसी तेलको निर्यात प्रतिदिन २ लाख ५० हजार ब्यारल मात्रै घटेर ७९ करोड ४० लाख ब्यारेलमा झरेको बताएको थियो ।
कच्चा तेल र उत्पादनको निर्यातको मात्रा अगस्ट २०२१ यताकै न्यून रहेको भए तापनि रूसको निर्यातबाट हुने आम्दानी बढेको छ । तेलको मूल्यमा महिना दिनमा ७० करोड डलर बढेर २० अर्ब ४० करोड डलर पुगेको छ । रूसबाट चीन र भारतले ठूलो परिमाणमा सस्ताे मूल्यमा कच्चा तेल आयात गरिरहेका छन् ।
आईओसीले घटाएर पठायो
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि नेपाल आयल निगमले यहाँ घटाएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।
योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा हुने भएको छ ।