लमजुङ । डुम्रे–बेंसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो ।
डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार वैकल्पिक सडकका रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भइरहेको छ । वर्षा अझै निरन्तर भइरहेकाले त्यहाँ अहिलेसम्म पनि लेदो आइरहेको र सडक खुलाउने कार्य सुरु गर्न समस्या भइरहेको उनको भनाइ छ ।
विगतमा ठूलो पहिरा गएकाले सोही पहिरा हुँदै लेदो आउँदा पटक–पटक समस्या भइरहेको छ । सडक अवरुद्धका कारण बिहानैदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन नसकेको उक्त योजना कार्यालयले जनाएको छ । गत भदौ ११ गते र असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेंसीसहरबाट काठमाडाैं, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेंसीसहर आउने यात्रुहरूलाई समस्या हुँदै आएको छ ।
त्यस्तै सोमबार बिहानदेखि नै हालसम्मै बेंसीसहर चामे सडकसमेत अवरुद्ध कायम रहेको छ । यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ र मनाङको चामे गाउँपालिकास्थित कोत्रेमा गएको पहिराको कारण सडक अवरुद्ध भए पनि कोत्रेमा भने सोमबारबाटै सवारी सञ्चालन हुँदै आएको थियो ।
कोत्रेमा २० मिटर सडक बगाएको थियो भने रामबजार नजिकै ढुंग माटाको पहिराले सडक अवरुद्ध बनाएको थियो । सूचना अधिकारी एवं इञ्जीनियर अधिकारीले भने, “रामबजार नजिकको पहिरो हटाउने कार्य भइरहेको र आज १० बजेतिरबाट सडक सञ्चालन हुन सक्नेछ ।” हाल पानी परिरहेको र फेरि पनि पहिरो आएमा भने थप समस्या हुने बताइएको छ ।