काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा अर्को पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’ थपिएको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूलाई लक्षित गरेर विभिन्न पेस व्यवसायमा आबद्ध १३ जना युवाको संयुक्त लगानीमा निर्माण भएको ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा आएको छ ।
ड्रिम पार्कका लागि करिब ५० करोडभन्दा बढी लगानी गरिएको मार्केटिङ डाइरेक्टर हिरा केसीले जानकारी दिए । पार्कभित्र २ वटा सुविधासम्पन्न रेष्टुराँसमेत सञ्चालन गरिएको छ । दुईवटा रेष्टुराँका लागि मात्र करिब ६ करोडभन्दा बढी लगानी गरिएको केसीले जानकारी दिए ।
६५ रोपनीमा निर्माण भएको सो पार्कमा २ दर्जनभन्दा बढी खेलहरू खेल्न सकिने छ । फ्रिफल, ५ वटा स्वीमिङ पुल, वेभ पुल, रोलर कस्टर, १२ वटा इनडोर गेमलगायत विभिन्न गतिविधि पार्कमा समावेश रहेको उनले बताए ।
वाटर पार्कभित्र ६ देखि ७ वटा इभेन्ट रहने र त्यसमा १ सय ५० देखि २ सय जनासम्म एकैपटक खेल्न मिल्ने ०.४ मिटर गहिराइको बच्चाको पुल, लेजी रिभर, ३ सय जना एकैपटक खेल्न मिल्ने सामुद्रिक छालको झल्को दिने खालको वेभ पुल, सोफा टाइपको स्लाइड पुल, फेमिली स्लाइड पुल, भुमरी युक्त टोर्नाडो पुल रहेको छ ।
पोखरामा घुम्न आउने र पोखरा आसपासका पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको सो पार्क प्रवेशका लागि २ सय रुपैयाँको टिकट निर्धारण गरिएको छ । योसँगै भित्र गएपछि वाटरपार्कका लागि भने टिकटको मूल्य १ हजार २ सय रुपैयाँ तोकिएको र ग्रुपमा आउनेलाई विषेश छुटको व्यवस्था गरिएको मार्केटिङ डाइरेक्टर केसीले जानकारी दिए ।
पोखरा विशेष गरेर युवा उमेर समूहका लागि मात्र घुम्नका लागि उपयुक्त भएको र बालबालिका र वृद्धवृद्धाहरूका लागि खासै नयाँ गन्तव्यहरू नभइरहेको महसुस गर्दै नयाँ प्रडक्टको रुपमा ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालन गरिएको उनको भनाइ छ । यसले बालबालिकाहरूका लागि पनि नयाँ गन्तव्य बनेको उनको बुझाइ छ ।
जसको कारण १ दिन अन्य ठाउँमा घुमघाम गरे पनि १ दिनका लागि भने बालबालिकाहरूलाई लिएर ‘फिस्टेल ड्रिम पार्क’मा आउने विश्वास आफूहरू रहेको उनले जानकारी दिए ।
सफ्ट ओपनिङमा २ हजारभन्दा बढीको प्रवेश
शनिबार गरिएको सफ्ट ओपनिङमा २ हजार जना पार्कमा प्रवेश गरेका छन् । असोजमा उद्घाटन गर्ने गरी शनिबार गरिएको सफ्ट ओपनिङमा २ हजारभन्दा बढी प्रवेश गरेको सञ्चालक केसीले जानकारी दिए । ‘पार्क सञ्चालनमा आएपछि सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, सञ्चालक केसीले भने, यो हाम्रो लागि निकै उत्साहजनक विषय हो ।’ पार्कमा १५० जनाभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।