काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ उच्च अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ५४.५८ अंकले बढेर २ हजार १९५.१० बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार २ हजार १४२ बिन्दुमा खुलेको बजार उच्च अंकले बढ्न सफल भएको छ । बढेको बजारमा साढे ४ अर्बको कारोबार भएको छ । आइतबार नेप्सेले उच्च २ हजार १९५ बिन्दु र न्यून २ हजार १४२ बिन्दुमा झरेको थियो ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्सेमा ४ अर्ब ६० करोडको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार नेप्सेमा २ अर्ब १८ करोडको कारोबार भएको थियो ।
बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लिएको भन्दै विवादमा आएपछि गत असार २२ गते जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
शर्मालाई संसदीय छानबिन विशेष समितिले शुक्रबार सफाइ दियो । सफाइपश्चात शर्मा पुनः अर्थ मन्त्रालय भित्रिने भएका छन् । उनी मन्त्रालय फर्किने खबरले बजार उचालिएको जानकार बताउँछन् । शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएको दिन २०४३ बिन्दुमा रहेको बजार निरन्तर ओरालो लाग्दै १९१५.६१ ओर्लिएको थियो ।
निरन्तर ओरालो लाग्दै गएको बजारलाई मौद्रिक नीतिले साथ दिँदा बजार पुनः बढ्न सफल भयो । आइतबार नेप्सेमा २ सय २० कम्पनीको १ करोड १३ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२० कम्पनीमध्ये १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेमा नेपाल इन्स्योरेन्ससहित ५ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै पाँच कम्पनीको ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावरको सर्वाधिक ३.३० प्रतिशतले सेयरमूल्य घटेको छ । आइतबार नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक २१ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको १५ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।