काठमाडौं । प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान त्रिवेणी र विशाल ग्रुपको लगानी रहेको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको बिजनेस बढ्न थालेको छ । ९ महिनाको अवधिमा घोराहीले क्लिङ्कर र सिमेन्ट बेचेर ३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२१ मा उद्योगले ६ अर्ब ९ करोड रुपैयाँको सिमेन्ट व्यापार गरेको थियो । घोराहीले सन् २०२० मा ५ अर्ब ६७ करोड ४० लाख र सन् २०१९ मा ८ अर्ब ८७ करोड ५० लाख रुपैयाँको सिमेन्ट कारोबार गरेको थियो ।
कोरोना महामारीले सन् २०१९ को तुलनामा पछिल्ला दुई वर्षमा व्यापार घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । सिमेन्ट उत्पादन आवश्यक कच्चा वस्तुहरु जस्तै कोइला, जिप्सन, आइरन, चुनाको उत्पादन लागत बढ्दा लागतमा असर परेको छ ।
सिमेन्टमा कोइलाको हिस्सा ५१ प्रतिशत हुने गरेको छ । उद्योगले दक्षिण अफ्रिकाबाट कोइला आयात गर्दै आएको छ । पछिल्लो समय विश्व बजारमा कोइलाको मूल्य ७० प्रतिशतसम्म बढेकाले सिमेन्टको लागतमा पनि बढोत्तरी आएको छ ।
सन् २००७ मा स्थापना भएको घोराही सिमेन्टले दाङ उपत्यकामा सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगले दैनिक १९०० टन क्लिकर र २३०० टन सिमेन्ट उत्पादन गर्दै आएकोमा गत वर्ष उद्योगको क्लिङ्कर उत्पादन क्षमता बढाएर दैनिक ३ हजार र सिमेन्ट उत्पादन १४०० टन थपेको छ ।
उद्योगले सिमेन्ट र क्लिङ्करकाे उत्पादन क्षमता बढाएपछि लागत पनि थपिएर कुल १० अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको घोराहीले जनाएको छ । यसअघि उद्योगको ८ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ थियो ।
उद्योगले १२ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । जसअनुसार केयर रेटिङस नेपाल लिमिटेडले उद्योगको ऋणलाई केयर एनपी ए फोर रेटिङ दिएको छ । दाङको तप भन्ने स्थानमा उद्योगको आफ्नै खानी रहेको छ ।
उद्योगले सिमपानीमा अर्को खानी उत्खनन्को अनुमतिपत्र (लाइसेन्स) पाएको छ । यो बाहेक उद्योगसँग थप दुईवटा खानी उत्खननकाे लाइसेन्स रहेको छ । उद्योगले पश्चिम र सुदूरपश्चिम क्षेत्रमा सिमेन्टको बजारलाई लक्षित गर्र्दै आएको छ ।
उद्योगले सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । विभिन्न २१ वटा वितरकहरुमार्फत घोराहीले सगरमाथा ब्राण्डको सिमेन्ट बिक्रीवितरण गर्दै आएको छ । नेपाल विकासको चरणमा रहेकाले सिमेन्टको माग बढ्दै गएको उद्योगले जनाएको छ ।
बढी सिमेन्ट खपत गर्ने जलविद्युत, सडक, विमानस्थल र पर्यटनलगायत ठूला पूर्वाधार निर्माण भइरहेको छ । यसले नेपालमा सिमेन्टको खपत बढाएको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले नगद अनुदान दिएर सिमेन्ट निकासीलाई प्रोत्साहन गरेको छ ।
उद्योगबाट भारतीय सीमाना ३ घण्टाको दूरीमा रहेकाले यसबाट लाभ लिन सक्ने देखिएको छ । यस्तै वार्षिक १० करोड रुपैयाँ बिजुली खपत गर्ने उद्योगले १५ प्रतिशतसम्म महसुल छुट पाउने भएकाले घोराहीको सिमेन्ट उत्पादन लागत कम गर्न सघाउ पुग्ने छ ।
त्रिवेणी र विशाल ग्रुप बैंकिङ, जलविद्युत, व्यापार, उत्पादन, बैंक, बिमामा व्यवसायमा संलग्न रहेको छ । त्रिवेणी ग्रुपको सिमेन्ट उत्पादनमा दुई दशक बढीको अनुभव रहेको छ ।
त्रिवेणीले अहिले एक्लैले ग्रान्डिङ युनिटबाट विश्वकर्मा ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको छ । विशाल ग्रुप उत्पादन, फास्ट मुभिङ कन्जुमर गुड्स आयात र वित्तीय क्षेत्रमा बलियो उपस्थिति रहेको छ ।
३ अर्ब ४५ करोडको आईपीओ आउँदै
सन् २०२१ मा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न घोराही पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगले ७९ लाख ४३ हजार ८ सय १ कित्ता आईपीओ ल्याउन लागेको हो ।
आईपीओको परल मूल्यमा १ सय रुपैयाँ प्रिमियमबापत ३ सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको रहेको छ । आईपीओको अण्डरराइटिङको जिम्मा नागरिक लगानी कोषले पाएको छ ।