काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले १० वर्ष पूरा गरेको छ । क्यापिटलले १० वर्ष पूरा गरेको अवसरमा सेवाग्राहीका लागि विभिन्न छुट योजना ल्याएको हो ।
क्यापिटलले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा गरी ११ औं वर्षमा लागेको हो ।
क्यापिटलले आफ्नो १० वर्षे सफल कार्यकालमा १ सय ८८ कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ ।
साथै ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ । क्यापिटल, योजना व्यवस्थापक रही ‘एनआईबीएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ ।
जसमध्ये एनआईबीएल समृद्धि फन्ड–१ परिपक्क भई आफ्नो एकाइ धनीहरुलाई रकमसमेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना “एनआईबीएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेस भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
क्यापिटलले ७०० भन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो सेयर सेवासमेत प्रदान गरेको छ ।
क्यापिटलले १० वर्ष पूरा गरेको अवसरमा ल्यायो छुट योजनाहरु क्यापिटलले डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क नवीकरण, १० रुपैयाँमा मार्केट एक्सपट, व्यवस्थित लगानी योजना व्यवस्थित लगानी योजनाको धन्यवाद अफर लगानीकर्ताहरु मध्येबाट १० जना भाग्यशालीहरुलाई १० हजार बराबरको एकाइ प्रदान गरिने जनाएको छ ।
विजेताहरुको छनोट गोलाप्रथाद्वारा गरी फेसबुक लाइभमार्फत गरिने क्यापिटलले जनाएको छ । साथै एसपीआईमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गर्ने भएको छ ।
योजना २०७९ साल साउन १५ गतेदेखि २५ गतेसम्मको लागू हुने क्याप्टिलले जनाएको छ ।